Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

गोकर्ण देशे’बाट बिदा भयो नवदुर्गा गण


गोकर्णेश्वर नगरपालिकामा रहेको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वको ‘गोकर्ण देशे’ भक्तपुरबाट आएको नवदुर्गाका गणलाई बिदाइ गरिएको छ । मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर गोकर्णेश्वर क्षेत्रमा देखाइने गरेको नवदुर्गा नाच ३३ वर्षपछि गोकर्ण देशेका विभिन्न टोलका साथै त्यहाँस्थित मठ मन्दिर क्षेत्रमा तीन दिनसम्म प्रदर्शन गरिएको थियो ।

नवदुर्गा नाच प्रस्तुत गर्ने समूहलाई बुधबार बिदाइ गरिएको वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । ३३ वर्षपछि ऐतिहासिक महत्वको बस्तीमा नाच प्रस्तुत भएपछि स्थानीयवासी खुसी भएका छन् । स्रोत अभावमा ३३ वर्षपछि यो जात्रा गोकर्ण देशे गाउँमा पुनरागमन भएको हो । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष पौष शुक्ल पक्षमा गोकर्णेश्वरमा आउने चलन भए पनि बीचमा ३३ वर्ष स्रोत अभावमा बन्द रहेको थियो । यस वर्ष गोकर्णेश्वर नगरपालिकाले नाचका लागि बजेट व्यवस्थापन गरेपछि नाच देखाइएको हो ।

नवदुर्गा, भैरव, गणेशलगायत देवी देवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल टोखा–साङ्ला–चपली हुँदै सोमबार बेलुकी गोकर्ण देशे गाउँ आइपुगेको थियो । गोकर्ण देशे गाउँको बस्ती नेपालका ऐतिहासिक राजा मानदेवले बसालेको विश्वास गरिन्छ । पैदल आउनेक्रममा पुलबाट समेत नहिँडी नदीमा पैतालाले छोएर तर्नुपर्ने नियम छ । नवदुर्गाका गण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट आई त्यहीँबाट फर्कने गरेका छन् । दुई सय वर्षभन्दा पुरानो नवदुर्गा नाचको मार्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यही मार्ग भएर आउने गरिएको हो । विमानस्थलको सुरक्षामा खटिएको सुरक्षा समूहले समेत नवदुर्गाका गणलाई आउन दिने गरेको छ । पशुपति क्षेत्रमा नाच देखाउन पनि यो मार्गबाट आउने गरेको छ ।

नाच देखाउने क्रममा नवदुर्गाका गण पौष शुक्ल तृतीया र चतुर्थी गरी दुई रात गोकर्ण देशे गाउँस्थित नवदुर्गा डबलीअघिको देवता घरमा बस्ने गरेका छन् । तान्त्रिक विधिमा आधारित नवदुर्गा नाचका क्रममा यो संस्कृतिलाई गिज्याउँदा दुष्परिणाम भोग्नुपरेका किम्वदन्तीसमेत प्रचलित छन् । नवदुर्गा नाच गोकर्णेश्वर क्षेत्रसँगै पशुपति क्षेत्रको जयवागेश्वरी, बनेपाको चण्डेश्वरी, टोखा चण्डेश्वरी, साङ्ला, ठिमीलगायत स्थानमा रहेका देवी मन्दिरअघि समेत लगेर नाच देखाउने परम्परा छ । यस वर्ष पशुपति क्षेत्रमा गत मोक्षदा एकादशीका दिन यो नाच देखाइएको थियो । जाडो महिनामा जात्राको समय पर्ने भएकाले दुई रातसम्म गोकर्ण देशे गाउँको नवदुर्गा डबलीअघि गणलाई आगो बालेर ताप्ने व्यवस्थासमेत मिलाइन्छ ।

विगतमा नवदुर्गा गणका नाममा गुठी राखिएकामा मासिएपछि विभिन्न स्थानमा गएर जात्रा देखाउन स्रोतको समस्या हुने गरेको गणनायकको भूमिका निभाउँदै आउनुभएका दयाराम वनमाला बताउनुहुन्छ । गुठी मासिएपछि नाच लैजाने स्थलका स्थानीयवासीको साथ र सहयोगमा यो ऐतिहासिक परम्पराले निरन्तरता पाउँदै आएको छ । यो नाचका क्रममा नवदुर्गालाई गोकर्णेश्वरको मूल मन्दिर परिसरमा समेत परिक्रमा गराउने विधि रहेको गणका सदस्य बुद्धिबहादुर वनमालाले सुनाउनुभयो । यो जात्राका क्रममा तीन दिनसम्म गोकर्णेश्वर क्षेत्रमा नाचसहितको जात्रा हुन्छ । नवदुर्गा नाच सकेर बुधबार नवदुर्गाका गण पैदलमार्गबाट भक्तपुर फर्केको हो ।


प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?