Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

पर्यटकको रोजाइमा जलविरे झरना


८ वैशाख ,मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ ।

मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताए । “दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने गरेका छन्”, उनले भने ।

शनिबार र सार्वजनिक बिदाका दिन भने यहाँ अत्यधिक घुइँचो लाग्छ । नयाँ वर्षको पहिलो दिन एक हजार एक सय ५० जनाले टिकट काटेको तथ्याङ्क छ । कोरोना महामारीपछि यहाँ पर्यटक आउने क्रम बढेको हो । झरना रहेको वडा नं ६ का बासिन्दालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । “यहाँ झरना अवलोकनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन्”, अध्यक्ष गुरुङ बताउछन् ।

पर्यटक लोभ्याउनका लागि यहाँ भौतिक पूर्वाधारसमेत निर्माण गरिएका छन् । केन्द्र, प्रदेश सरकार र गाउँपालिकाले विभिन्न संचरना निर्माण गरेका हुन् । झरनासम्म सडक ढलान तथा कालोपत्र गरिएको छ । सिँढी, रेलिङ, गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन् ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उक्त झरना आन्तरिक आयतर्फ गाउँपालिकाले सबैभन्दा बढी आम्दानी गर्ने पर्यटकीय गन्तव्यमा पर्छ ; पछिल्लो छ महिनामा गाउँपालिकाले झरना आउने पर्यटकबाट प्रवेश शुल्कवापत रु १४ लाखभन्दा बढी आम्दानी गरेको  बताए ।

यहाँ प्रवेश गर्न आन्तरिक पर्यटकले रु ५० र विदेशीले रु १०० शुल्क तिर्नुपर्छ । “आन्तरिक पर्यटकलाई लक्षित गर्दै झरनालाई थप आकर्षित गर्न विभिन्न योजना बनाउँदैछौँ”, उनले भने । झरना नारायणगढ–मुग्लिन सडकबाट नजिकै रहेका कारण पर्यटक सजिलै पुग्न सक्छन् ।

चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्यमध्ये जलविरे लामो झरना उत्कृष्ट गन्तव्यभित्र पर्छ । यसले पर्यटकको मन लोभ्याएको छ । यहाँ पर्यटक स्वफूर्तरूपमा आउँछन् । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगाबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ ।

चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि पनि यो झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पूर्वाधार थपिएकाले पछिल्लो समय झरना आसपासको क्षेत्र व्यवस्थित बन्दै गएको छ ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?