Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

गोकर्णेश्वरले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने


७ वैशाख ,काठमाडौँ । साहित्यिक क्षेत्रको विकास विस्तारका लागि निरन्तर उदाहरणीय कार्य गर्दै आएको काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ ।

महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचना विज्ञ समूहद्वारा मूल्याङ्कन गराई ४० वटा रचनाको वाचन तथा गायनमा छनोट गरिनेछ ।

प्रतियोगितामा प्रथम हुने गजलकारलाई करबाहेक नगद रु ६० हजार पुरस्कार प्रदान गरिने नगरप्रमुख दीपककुमार रिसालले राससलाई जानकारी दिए । त्यस्तै द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिनेछ भने पाँच जनालाई सान्त्वना पुरस्कारस्वरुप जनही रु २० हजारका दरले पुरस्कृत गरिनेछ ।

यसैगरी महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ अप्रतियोगीका रूपमा विशिष्ठ गजलकारको उत्कृष्ट प्रस्तुति रहनेछ । महोत्सवलाई सफल र भव्यरूपमा सम्पन्न गर्न साहित्यकार गोविन्द घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । यसैगरी महोत्सवलाई व्यापकरूपमा प्रचार–प्रसार गर्न नवराज चालिसेको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाले विगतमा राष्ट्रियस्तरको कविता प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिसकेको छ । भैरव पुरस्कार गुठी, रमेश विकल साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठानसहितका अन्य सक्रिय साहित्यिक सङ्घसंस्थाको उपस्थितिका कारण पनि साहित्यिक वृत्तमा गोकर्णेश्वर नगरपालिकाको विशिष्ट पहिचान रहेको छ ।

गोकर्णेश्वर नगरपालिकाले साहित्यिक प्रकाशनमा पनि सहयोग गर्दै आएको छ । सभ्य तथा सचेत समाज निर्माणमा साहित्यिको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुने भएकाले साहित्यिक गतिविधिलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको नगरप्रमुख रिसाल बताउछन् ।

रमेश विकल, भैरव अर्याल, कञ्चन पुडासैनीजस्ता साहित्यिक हस्तीको जन्म तथा कर्मभूमिको रूपमा परिचित गोकर्णेश्वर नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गरिरहने नगरप्रमुखको भनाइ छ ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?