Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य


५ वैशाख, काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपाललाई मलेसियाले जितका लागि दुई सय ३६ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३५ रन बनायो ।

मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाउनुभयो । उहाँले ९५ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बाउनुभएको हो ।

भिरनदिप सिंहले ४६, कहिजर हायातले २२, सायजरुल इदरुसले २१, मुहमद अमिरले १७, मुहमद सहादतले १५, सयद अजिजले १३ र विजय उनईले १२ रन जोड्नुभयो ।

बलिङमा नेपालका सोमपाल कामी र सदीप लामिछानेले तीन तीन विकेट लिनुभयो । ललित राजवंशीले दुई तथा गुलशन झाले एक विकेट लिनुभयो । प्रिमियर कपको समूह ‘ए’ मा नेपाल मलेसियाविरुद्ध सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

नेपालका लागि मलेसिया तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी मानिन्छ । यसअघि भएका पाँच भिडन्तमा सबै नतिजा नेपालको पक्षमा रहेको थियो । मलेसियामाथि सदाबहार जितको छवि कायम राख्न नेपाललाई अब ब्याटिङमा राम्रो गर्नुपर्नेछ ।

नेपाल र मलेसियाबीच यसअघि पछिल्लो पटक सन् २०१८ को एसिया कप छनोटमा भिडन्त भएको थियो । मलेसियामै भएको खेलमा नेपाल १९ रनले विजयी भएको थियो ।

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । एसीसीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि मैदानमा खेल्दै सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल वैशाख ८ ओमानसँग खेल्नेछ । उक्त खेललाई एकदिवसीय मान्यतासमेत रहने छ । नेपालले समूहको तेस्रो खेल वैशाख ११ गते साउदी अरब र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल वैशाख १६ र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?