Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण


५ वैशाख, बाँके । विकास निर्माणमा तीव्र गतिमा अगाडि बढ्दै गएको बाँकेको दोस्रो ठूलो शहर कोहलपुरमा अत्याधुनिक शपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क निर्माण भएको छ । कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण कार्य सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार बस पार्किङ, टिकट काउण्टर, शपिङ कम्प्लेक्स लगायतका सबै संरचना निर्माण भइसकेका छन् ।

उनले बसपार्कमा तीन वटा प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैङ्क तथा सुरक्षा निकाय पनि रहने व्यवस्था मिलाइएको बताए ।

मुख्य राजमार्गमा कोहलपुर चौराहाको छेउमै निर्माण गरिएको सो बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारी साधन राख्न सकिने क्षमता छ । केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने र त्यसपछि सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

सो अत्याधुनिक लामोदूरीको बसपार्कको समग्र व्यवस्थापन बहालमा दिन, औषधि पसलहरू सञ्चालन गर्न, लामोदूरीको बसपार्क क्षेत्रभित्र रहेका सटरहरू बहालमा दिन सूचना प्रकाशित गरिसकिएको नगरपालिकाले जनाएको छ ।

बसपार्क सञ्चालनमा आएपछि नेपालगञ्ज र कोहलपुरबाट देशभरि यातायात सञ्चालन गर्ने व्यवसायीलाई सहज हुनुका साथै यात्रुलाई पनि राम्रो सुविधा मिल्ने कोहलपुरका मेयर पूर्ण आचार्यले बताए ।

मेयर आचार्यका अनुसार बसपार्क सञ्चालनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि २०७९ समेत स्वीकृत भएको छ । यो बसपार्कबाट देशको पूर्व–पश्चिम र उत्तर– दक्षिणका विभिन्न स्थानमा लामो दूरीका यातायातका साधनहरू चल्नेछन् ।

सो बसपार्क सञ्चालनका लागि मेयरको अध्यक्षतामा पाँच सदस्यीय बसपार्क व्यवस्थापन समिति गठन गरिएको छ । बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैले लगानी गरेको छ ।

वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता भएको नगरपालिकाले जनाएको छ । सो आधुनिक बसपार्क पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ । बसपार्क सञ्चालनमा आएपछि यात्रुहरूलाई सहजता हुने र कोहलपुरको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?