Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन


५ वैशाख, काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । कार्यालय, यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको हो ।

विसं २०७८ पुसमा काभ्रेको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो । त्यसयता व्यवसायीले आनाकानी गर्दै आएका थिए । मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् ।

गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि कार्यालयले सोमबार सरोकारवाला निकायका प्रतिनिधिलाई छलफलका लागि डाकेको थियो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आउने बिहीबारदेखि मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको बताए । “अब जसरी भए पनि तौलपुल सञ्चालन गर्ने हो, मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न लगाइनेछ”, उनले भने ।

तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न/गराउन आग्रह गर्दै आएका थिए । पनौती र पाँचखाल नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई र नमोबुद्ध नगरले कोटकालिका मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई मालवाहक सवारीसाधनको अनिवार्य भारमापन गरी गर्न÷गराउन निर्देशन दिँदै आएका थिए ।

भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा २०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुनसकेको थिएन । “दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि पनि मालवाहक सवारीमा भारमापनमा कडाइ गर्नुपर्ने देखियो”, प्रजिअ पौडेलले भने ।

मालवहाक सवारीले इच्छाअनुसार मात्रै भारमापन गर्ने गरेको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिका सरोज कुइँकेलले बताए । उनका अनुसार सबै मालवाहक सवारीले भारमापन गर्ने हो भने सडक सुरक्षामा निकै मद्दत पुग्नेछ । निर्देशिकाअनुसार छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले रु एक सय ५० तिर्नुपर्ने नियम बनाइएको छ ।

जिल्लास्थित दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्ग तथा अरनिको र विपी राजमार्गमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायतका मालवाहक सवारीसाधन चल्ने गर्दछन् । मालवाहक सवारीले क्षमताभन्दा बढी भार बोक्दा पक्की सडकसमेत बर्सेनि जीर्ण हुने गरेका छन् ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?