Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने


३ वैशाख, गोरखा । गोरखानाथ मन्दिरमा २० औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै गोरखा जिल्लाभित्र धार्मिक पर्यटन प्रवद्र्धनका लागि यही वैशाख २२ देखि जेठ १ गतेसम्म महोत्सव हुने भएको हो ।

गोरखनाथ मन्दिरमा दिनहुँ रोट चढाउने प्रचलन रहे पनि गएको २० वर्षदेखि यसलाई महोत्सवकै रूपमा समेत अगाडि बढाउन थालिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी र्दिए । गोरखनाथ पृथ्वीमा पहिलोपटक गोरखाको पवित्रस्थल गोरख गुफामा प्रकट भएको धार्मिक मान्यताअनुसार यहाँको गोरखनाथ मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको छ ।

रोट भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने उनले बताए । “एक प्रकारको खाद्य वस्तुका रूपमा रहेको रोट गुरुगोरखनाथलाई मनपर्ने वस्तुका परिकार हो”, उनले भने, “चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनीलगायतका ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।” साना–साना आकारमा तयार गरिने यो रोटलाई नाथ प्रजातिका व्यक्तिहरूले शुद्व भई मन्त्रजप गरी बीचको भाग उठाएर बनाइएको हुन्छ । तत्कालीन नेपाल एकीकरणको समयमा सेनालाई प्रसादका रूपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलाग्ने र लामो समयसम्म लडाइँ लड्न सकेको भन्ने भनाइ शिलालेखमा पाइन्छ ।

रोट महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि खाने, बस्नेलगायतका सवै सुविधा निःशुल्क उपलब्ध गर्ने व्यवस्था गरिएको अकेलाले जानकारी दिए । भक्तजनका लागि भजनकीर्तन गर्नसमेत विशेष ठाउँको व्यवस्था गरिएको छ भने रोट पकाउन लागि दाउरालगायतको समेत विशेष व्यस्थापन गरिएको उनले बताए । महोत्सव गर्न करिब रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको संयोजक अकेलाले जानकारी दिए ।

लाग्ने खर्च हरेक वर्ष शक्ति केन्द्र, साधक, भक्तजन, स्थानीय समाजसेवी तथा सङ्घसंस्थाबाट स्वेच्छिकरूपमा जुटाइन्छ । एघार दिनसम्म चल्ने महोत्सवका लागि गोरखा आउने श्रद्धालु भक्तजनको आवास र खानाको प्रबन्ध आयोजकले व्यवस्थापन गर्ने जानकारी दिएको छ । वैशाख २२ गते बाजागाजासहित गोरखा सदरमुकामबाट गोरखनाथ मन्दिरसम्म रथयात्रा गरिनेछ । रोट महोत्सवमा हरेक दिन साधक साधिकाबाट धार्मिक प्रवचन तथा भजनकीर्तनसमेत हुने केन्द्रले जनाएको छ ।

महोत्सवले गोरखाको प्रचार–प्रसार जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । यहाँको रोट महोत्सव अवलोकन र प्रसाद ग्रहण गर्नका लागि भारतलगायतका देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् । महोत्सवमा एक लाख श्रद्वालु भक्तजनले सहभागिता जनाउने आयोजकको अनुमान छ ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?