Trending
>>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल >>   फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो : मन्त्री श्रेष्ठ >>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली
Logo
११ मंसिर २०८३, शुक्रबार
११ मंसिर २०८३, शुक्रबार

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौँ।बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढे पनि कर्जा प्रवाहले अपेक्षित गति लिन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ ।लगानीयोग्य रकम पर्याप्त हुँदासमेत कर्जाको माग विस्तार हुन नसकेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रिय बैंकले दुई महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन शुक्रबार बोलकबोल गर्ने भएको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंसिर ११ गते जारी गरेको सूचनाअनुसार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ ।

राष्ट्र बैंकले न्युनतम १० करोड रुपैयाँदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म बोल गर्न सकिने व्यवस्था गरेको छ । बोल रकम १० करोड रुपैयाँले भाग जाने गरी प्रश्ताव गर्नुपर्नेछ । सहभागी बैंक तथा वित्तीय संस्थाले एउटै वा फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोल पेस गर्न सक्नेछन् । संकलित रकमको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी हुनेछ । यस उपकरणमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन् ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । तर कर्जा प्रवाह भने ६१ खर्ब १८ अर्ब रुपैयाँमा सीमित छ । निक्षेप संकलन र कर्जा विस्तारबीचको यही अन्तरले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको हो । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा ७७ खर्ब १२ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थामा ८ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ । वाणिज्य बैंकहरूले ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६ खर्ब ८० अर्ब रुपैयाँ छ ।

बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.१६ प्रतिशतमा सीमित छ । नियामकीय व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने भएपनि कर्जाको माग कमजोर हुँदा उपलब्ध स्रोत पूर्ण रूपमा परिचालन हुन सकेको छैन । यसले बैंकहरूमा थप कर्जा विस्तार गर्ने पर्याप्त क्षमता रहेको देखाउँछ ।

१३ खर्ब ७६ अर्ब रुपैयाँ मौद्रिक उपकरणमा
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ । चालु आर्थिक वर्षको मंसिर ११ गतेसम्मको तथ्यांकअनुसार राष्ट्र बैंकका ऋणपत्र, निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामा गरी कुल १३ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको रकम रहेको छ । त्यसमध्ये राष्ट्र बैंक ऋणपत्रमा ४ खर्ब रुपैयाँ, निक्षेप संकलन उपकरणमा ८ खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामा १ खर्ब ४० अर्ब ३० करोड रुपैयाँ रहेको छ । उक्त अवधिमा राष्ट्र बैंकले सामान्य निक्षेप संकलन उपकरण २९ पटक प्रयोग गरी १ खर्ब ६८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै, स्थायी निक्षेप सुविधा ८० पटक प्रयोग गर्दै ९ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । तरलता प्रवाह गर्ने रिपो, सोझै खरिद, ओभरनाइट रिपो तथा स्थायी तरलता सुविधामार्फत भने यस अवधिमा कारोबार भएको छैन । बैंकिङ प्रणालीमा रकम अभाव नभई अधिक तरलता रहेकाले राष्ट्र बैंकले बजारबाट रकम खिच्ने उपकरणलाई प्राथमिकता दिएको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेसँगै अन्तरबैंक ब्याजदरसमेत घटेर २.७५ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप पर्याप्त भए पनि कर्जा प्रवाह कमजोर रहँदा बैंकहरूबीचको अल्पकालीन सापटीको ब्याजदर न्युन भएको छ । बैंकमा लगानीयोग्य रकम थुप्रिने र कर्जाको माग कमजोर रहने अवस्थाले वित्तीय प्रणालीमा तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई झनै चुनौती थपेको छ ।


प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?