काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लामो समयदेखि अल्झिएका राष्ट्रिय हितका विषय टुंग्याउन सरकारलाई सुझाव दिएका छन् ।
शनिवार पार्टीको केन्द्रिय कार्यालयमा आयोजित प्रथम स्थापना दिवस कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर आयोजना कार्यान्वयन, टनकपुर ब्यारेजबाट सिंचाईका लागि पानी छाड्ने, विद्युत व्यापारको बजार पहुँच विस्तार गर्ने र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुटको स्वीकृति प्राप्त गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । घिसिङले महाकाली सन्धि भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर आयोजना कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक विषय टुंग्याउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । पञ्चेश्वर आयोजना कार्यान्वयनले नेपाललाई दीर्घकालीन लाभ पुग्ने उनको भनाइ छ । त्यस्तै, पञ्चेश्वर सन्धिअन्तर्गत टनकपुरबाट पश्चिम नेपालका विभिन्न क्षेत्रमा सिंचाईका लागि पानी उपलब्ध गराउने विषय पनि टुंग्याउनुपर्ने उनले बताएका छन् । उनकाअनुसार करिव २८ किलोमिटर सिंचाई नहर निर्माण भइसके पनि टनकपुर ब्यारेजबाट पानी छाडिएको छैन । आफू मन्त्री हुँदा पनि पटक–पटक यस विषयमा पहल गरेको स्मरण गर्दै घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा टनकपुरबाट पानी छाड्ने कामको उद्घाटन हुनसके सुदूरपश्चिमको कृषि तथा सिँचाइ क्षेत्रमा योगदान पुग्ने बताएका छन् । घिसिङले विद्युत व्यापारलाई पनि भारत भ्रमणको महत्वपूर्ण एजेण्डा बनाउनुपर्नेमा जोड दिएका छन् । नेपालको विद्युत कहिले बढी भएर खेर जाने र कहिले अपुग हुने अवस्था रहेको उल्लेख गर्दै उनले भारत र बंगलादेशको बजारमा विद्युत्को पहुँच थप सहज बनाउन आवश्यक रहेको बताएका छन् । भारत, बंगलादेश र भुटानलगायत क्षेत्रीय बजारमा विद्युत व्यापारका लागि विगतमा भएका प्रयासलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ छ । नेपालको विद्युत व्यापार विस्तारका लागि बजार पहुँच र त्यससम्बन्धी सहमति टुंग्याउनुपर्नेमा उनले जोड दिएका छन् ।
त्यसैगरी, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय उडानका लागि उपयोग गर्न आवश्यक हवाई रुटसम्बन्धी सहमति भारतबाट प्राप्त गर्नुपर्ने घिसिङले बताएका छन् । प्रधानमन्त्रीको भ्रमणका क्रममा उक्त सहमति प्राप्त हुन सके नेपालको हवाई क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हुने उनको भनाइ छ ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा लामो समयदेखि थाती रहेका राष्ट्रिय महत्वका विषयहरू टुङ्ग्याउन हाम्रो पार्टीको सुझाव छ । पहिलो, महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर परियोजना कार्यान्वयनका लागि आवश्यक सहमति र प्रक्रिया टुङ्ग्याउनुपर्छ । दोस्रो, टनकपुरबाट पश्चिम नेपालका क्षेत्रमा सिंचाईका लागि पानी उपलब्ध गराउने विषयलाई टुङ्गोमा पु¥याई नहरमा पानी छोड्ने व्यवस्था गर्नुपर्छ। यसले सुदूरपश्चिमको कृषि क्षेत्रमा ठूलो योगदान पु¥याउनेछ । तेस्रो, भारत र बंगलादेशलगायतका बजारमा नेपालको विद्युत् व्यापारलाई सहज र व्यवस्थित बनाउन आवश्यक सहमति गर्नुपर्छ। विद्युत् व्यापार नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो । चौथो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) को प्रभावकारी सञ्चालनका लागि आवश्यक हवाई रुटसम्बन्धी भारतीय सहमति प्राप्त गर्नुपर्छ । यी विषयहरू लामो समयदेखि प्रतीक्षामा छन् । वर्तमान सरकारले प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिमूलक बनाउँदै राष्ट्रिय हित र आर्थिक समृद्धिसँग जोडिएका यी विषय टुङ्ग्याउन पहल गरोस् भन्ने हाम्रो आग्रह छ ।’
घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणलाई लामो समयदेखि पेन्डिङमा रहेका राष्ट्रिय महत्वका विषय टुंग्याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार