काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा अघि बढाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको बताएका छन् ।
शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले देश, जनता र समाजको चिन्ता गर्दै मुलुकको रूपान्तरणका लागि पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् । उनले अहिले नेपाली राजनीतिमा विभिन्न पार्टीहरू आन्तरिक समस्यामा फसेको उल्लेख गर्दै कोही विभाजनको अवस्थामा रहेको र कोही आफ्नै समस्याका कारण कमजोर बनेको टिप्पणी गरेका छन् । यस्तो अवस्थामा नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आशा र अपेक्षा बढेको उनको दाबी छ । नेपालले आफ्नो पार्टीमा तीन जना पूर्वप्रधानमन्त्री रहेको र पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको उल्लेख गरेका छन् । विगतमा पार्टीले खेलेको भुमिकाका आधारमा पनि नेपालको राजनीतिलाई सही दिशामा लैजान सक्ने विश्वास आफूहरूमा रहेको उनले बताएका छन् । उनले न्यायको पक्षमा आवाज उठाउने र अरूलाई पनि अन्यायविरुद्ध बोल्न प्रेरित गर्ने काम कम्युनिष्ट पार्टीले गर्नुपर्ने बताएका छन् । समाजमा न्याय र परिवर्तनका लागि पार्टीले आफैँ अगुवाइ गर्नुपर्ने उनको भनाइ छ । नेपालले मुलुकलाई रूपान्तरण गर्न केवल राजनीतिक नारा र आश्वासन पर्याप्त नहुने भन्दै नयाँ समाजको स्पष्ट परिकल्पना र त्यसलाई व्यवहारमा उतार्ने ठोस योजना आवश्यक रहेको बताएका छन् । उनकाअनुसार नयाँ समाजको सपना देख्ने, त्यसको रूपरेखा तयार गर्ने र सपनालाई वास्तविकतामा परिणत गर्न योजनावद्ध रूपमा काम गर्ने व्यक्तिले मात्रै समाज परिवर्तनमा योगदान दिन सक्छ ।
नेपालले भने, ‘न्यायका पक्षमा आवाज उठाउने र अरूलाई पनि त्यसका लागि प्रेरित गर्ने जिम्मेवारी हाम्रो हो । त्यसैले हामीले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । देश, जनता र समाजको चिन्ता गर्दै मुलुकलाई सही दिशामा अघि बढाउने जिम्मेवारी लिनुपर्छ । नेपालको राजनीतिमा विभिन्न पार्टीहरू आन्तरिक समस्या र विभाजनको चुनौतीबाट गुज्रिरहेका छन्। यस्तो अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो ऐतिहासिक भुमिका र अनुभवका आधारमा राजनीतिक परिवर्तनमा योगदान दिनुपर्ने आवश्यकता छ । देशलाई रूपान्तरण गर्न नयाँ समाजको परिकल्पना गर्नुपर्छ । नयाँ समाजको सपना देख्ने, त्यसलाई साकार पार्न ठोस योजना बनाउने र कार्यान्वयनमा जुट्ने व्यक्तिले मात्रै परिवर्तनको नेतृत्व गर्न सक्छ ।’
उनले देश, जनता र समाजप्रतिको जिम्मेवारीवोधका साथ पार्टीका नेता तथा कार्यकर्तालाई परिवर्तनको अभियानमा सक्रिय हुन आग्रह गरेका छन् ।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार