काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप र पत्रकारका विभिन्न समस्या समाधान गर्न सरकारलाई दबाब दिने उद्देश्यले चरणबद्ध आन्दोलन घोषणा गरेको छ।
महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेस्र्याउनेमाथि कारबाही नभएको भन्दै आपत्ति जनाएको छ।
त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लङ्घन भएको र लोककल्याणकारी विज्ञापनबापतको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम नगरिएको महासंघको आरोप छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले उदासीन व्यवहार देखाएको भन्दै महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
महासंघको घोषित कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ। मंसिर ४ गते संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाइनेछ।
त्यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने, मंसिर ७ गते जिल्ला शाखाहरूले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
मंसिर ९ गते सबै जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा पत्रकारलाई सामूहिक गिरफ्तार गर भन्ने ब्यानरसहित भेला हुने महासंघले जनाएको छ। माग पूरा नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत महासंघले दिएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको संरक्षणका लागि आन्दोलनमा उत्रिनुपरेको उल्लेख छ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलवार