काठमाडौँ ।नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै अपराधको आधुनिक स्वरूप विरुद्ध कडा कदम चाल्ने प्रतिवद्धता जनाएका छन् ।
बुधवार दज्र्यानी चिन्ह ग्रहण गरेपछि सम्बोधन गर्दै उनले साइबर अपराध, क्रिप्टो कारोबार र संगठित अपराधको चुनौती सामना गर्न प्रहरी संगठनलाई प्रविधिमैत्री र थप विशिष्टीकृत बनाउने उद्घोष गरेका हुन् । नवनियुक्त आईजीपी डा. केसीले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीको कार्यशैलीमा रूपान्तरणको खाँचो रहेको औंल्याएका छन् । उनले साइबर ठगी, डीप फेक, भ्रामक सूचनाका साथै खुला सीमानाका कारण उत्पन्न चुनौतीहरूलाई नियन्त्रणमा लिन गृह मन्त्रालयको समन्वयमा थप प्रभावकारी योजना अघि बढाउने बताएका छन् । संस्थागत सुदृढीकरणमा जोड दिँदै उनले प्रहरीभित्रको तल्लो तहका कर्मचारीका गुनासोलाई सम्बोधन गर्न सचिवालय मातहत नै रहने गरी एक ‘विशेष गुनासो सुनुवाइ संयन्त्र’ तत्काल स्थापना गर्ने घोषणा गरेका छन् । सरुवा, बढुवा र व्यावसायिक निष्पक्षतामा सुधार गर्दै जुनियर प्रहरी अधिकृतहरूको मनोबल उकास्न र सिनियर अधिकृतहरूलाई थप जवाफदेही बनाउन आफू केन्द्रित रहने उनले उल्लेख गरेका छन् ।
जलवायु परिवर्तन र प्राकृतिक विपद्को सामना गर्न प्रहरीको क्षमता अभिवृद्धि गर्ने बताउँदै उनले यसका लागि पर्याप्त स्रोत–साधन र कानुनी स्पष्टता आवश्यक रहेकोमा जोड दिएका छन् । उनले विगतका द्वन्द्व, भूकम्प र कोभिड–१९ को महामारीका बेला नेपाल प्रहरीले देखाएको वीरता र सेवाभावलाई स्मरण गर्दै आगामी दिनमा नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा गर्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता दोहोर्याएका छन् ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार