Trending
>>   लुम्बिनी लायन्स शिर्षमा >>   नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल >>   ‘पत्रकारमाथिको धरपकडमा सरकारको अनुमति थिएन,प्रहरीले पक्राउ गरेको हो’ >>   देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड >>   अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना >>   एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान >>   संसद बैठक तत्काल बोलाउन सभामुखसँग काँग्रेस र एमालेको माग >>   न्यायधीशमाथीको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे >>   रास्वपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरेनः प्रकाशशरण महत >>   फौजदारी कानून आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैनः सोविता गौतम
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल


काठमाडौँ । विराटनगर किंग्सका अलराउण्डर आन्द्रे रसेलले नेपालमा क्रिकेटको प्रतिभा र खेलाडीहरूको क्षमताबाट आफू प्रभावित भएको बताएका छन् ।

उनले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटको प्रतिभा विकासमा महत्वपूर्ण भुमिका खेलिरहेको उल्लेख गर्दै आगामी वर्ष पनि प्रतियोगितामा सहभागी हुन आउने बताएका छन् । मंगलवार जनकपुर बोल्ट्ससँगको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रसेलले नेपालमा १५ देखि २० जनासम्म राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने सम्भावना भएका खेलाडी देखेको बताए । राष्ट्रिय टोलीमा नरहेका खेलाडीसमेत अवसरको खोजीमा रहेको उल्लेख गर्दै उनले नेपाली क्रिकेटमा प्रतिभाको कमी नरहेको धारणा राखे । नेपालले वेस्ट इण्डिजजस्ता ठूला टोलीलाई हराउन सक्नुको कारण पनि आफूले एनपीएलमा देखेको प्रतिभाबाट बुझ्न सकेको रसेलको भनाइ छ । उनले खेलाडीलाई सही प्रशिक्षण र मार्गदर्शनसँगै मेहनती तथा विनम्र रहन सुझाव दिए ।

रसेलले नेपाली पिच र खेल परिस्थितिलाई चुनौतीपूर्ण भएपनि आफूलाई नयाँ नभएको बताए । दुई दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय तथा विभिन्न फ्रेन्चाइज प्रतियोगिता खेल्दै आएको अनुभवले फरक पिच र परिस्थितिमा आफूलाई अभ्यस्त बनाएको उनको भनाइ थियो । क्यारेबियन क्षेत्रका पिचसँग पनि नेपाली पिचको केही समानता रहेको उनले बताए ।

अन्तिम ओभरमा १३ रन बचाउने जिम्मेवारी पाउँदा आफूले आफ्नो बलिङ क्षमतामा विश्वास गरेको उनले बताए । अन्तिम ओभरमा दुई सेट ब्याटर क्रिजमा रहेकाले दबाब भए पनि १० रन बचाउन सके पर्याप्त हुने विश्वास लिएको उनले सुनाए । अन्तिम बलमा ब्याटरले अपेक्षा नगर्ने किसिमको सर्ट बल प्रयोग गर्ने निर्णय सफल भएको उनको भनाइ थियो ।

ब्याटिङ र बलिङ दुवैमा अनुभव भएकाले ब्याटरले अन्तिम ओभरमा के अपेक्षा गर्छन् भन्ने बुझ्न आफूलाई सहज हुने रसेलले बताए । ब्याटिङ गर्दा बलरले अपनाउन सक्ने रणनीति र परिवर्तनबारे सोच्ने गरेको उल्लेख गर्दै उनले सोही अनुभवले बलिङमा पनि सहयोग पुगेको बताए ।
नेपाली खेलाडीहरूसँगको सम्बन्धबारे रसेलले एनपीएलमा आफूले निकै आत्मीय वातावरण पाएको बताए । नेपाली खेलाडीहरू रमाइलो स्वभावका र मिलनसार रहेको उल्लेख गर्दै उनले विराटनगरको ड्रेसिङ रुम आफूले अनुभव गरेका सबैभन्दा खुसीमध्ये एक भएको बताए । उनले नेपाली खेलाडी लोकशसँग पनि नजिकको सम्बन्ध बनेको र ब्याटिङमा सुरुआत कसरी गर्ने तथा क्रिजमा सेट भएपछि विकेट जोगाएर खेल्ने विषयमा सुझाव दिने गरेको बताए । यसैबीच, टी–२० क्रिकेटमा १० हजार रन पूरा गर्ने लक्ष्य पाँच वर्षअघि नै निर्धारण गरेको रसेलले खुलासा गरे । आफू १० हजार रन पूरा गर्ने पहिलो तिब्र गतिका बलिङ अलराउन्डर बन्न चाहेको बताउँदै उनले ५०० भन्दा बढी टी–२० विकेट र १० हजार रनको लक्ष्य हासिल गर्न चोट, शल्यक्रिया र पुनरागमनका कठिनाइ पार गरेको उल्लेख गरे ।

१० हजार रनको उपलब्धिपछि अब १२ हजार रनको लक्ष्य राख्ने सोच बनाएको उनको भनाइ थियो । आफूले राखेको लक्ष्यले भविष्यका तिब्र गतिका अलराउन्डरलाई अझ ठूलो उपलब्धि हासिल गर्न प्रेरित गर्ने अपेक्षा पनि उनले व्यक्त गरे । प्रतिद्वन्द्वी टोली जनकपुर बोल्ट्सका ब्याटर सैफ हसनको प्रदर्शनको प्रशंसा गर्दै रसेलले अन्तिम ओभरमा उनले आफूलाई दबाबमा राखेको बताए । नजिक पुगेर पनि जित हासिल गर्न नसक्दाको पीडा आफूले धेरैपटक अनुभव गरेकाले सैफको प्रदर्शनको सम्मान गर्ने उनले बताए ।

नेपालको सबैभन्दा मन परेको पक्षबारे सोधिएको प्रश्नमा रसेलले यहाँको प्राकृतिक सौन्दर्य, हिमाल र नेपालीहरूको आतिथ्यको प्रशंसा गरे । आफूले बाल्यकालदेखि सुन्दै आएको सगरमाथा देख्न पाउनु विशेष अनुभव भएको उनले बताए । नेपालमा अझै एक खेल बाँकी रहेकाले आफू तत्काल स्वदेश नफर्किने पनि उनले स्पष्ट पारे ।

यता, जनकपुर बोल्ट्सका खेलाडी सैफ हसनले विराटनगर किंग्ससँगको खेलमा जितको नजिक पुगेर पनि पराजित हुनुपर्दा आफू निराश भएको बताए । उनले खेलमा जित हासिल गर्न सकेको भए टोलीका लागि मात्र नभई व्यक्तिगत रूपमा पनि थप खुशीको क्षण हुने बताए । हसनले आफूले पावरप्लेको अन्तिम चरणदेखि नै निकै मेहनत गरेर खेललाई जिततर्फ लैजाने प्रयास गरेको बताए । तर त्यसको परिणाम टोलीको पक्षमा आउन नसकेको उनको भनाइ छ । विराटनगरसँगको खेल जित्न सकेको भए शीर्ष दुईमा रहँदै प्लेअफमा पुग्ने सम्भावना बलियो हुने हसनले बताए । यद्यपि प्रतियोगितामा अझै धेरै खेल बाँकी रहेकाले टोलीले शीर्ष दुईमा स्थान बनाउने आशा कायमै रहेको उनको भनाइ छ । बंगलादेशका खेलाडीले पछिल्लो समय विभिन्न फ्रेन्चाइज लिगमा खेल्ने अवसर पाइरहेको उल्लेख गर्दै हसनले त्यसले उनीहरूको अनुभव र प्रदर्शनमा सुधार ल्याएको बताए । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले विदेशी लिगमा खेल्न सहज रूपमा अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउँदै आएकोमा उनले आभार व्यक्त गरे । उनकाअनुसार बंगलादेशका खेलाडीले अहिले टी–२० फ्रेन्चाइज प्रतियोगितामा नियमित अवसर पाइरहेका छन् । गत वर्ष आफूले पनि टी–१० र ग्लोवल सुपर लिग खेलेको उल्लेख गर्दै उनले फ्रेन्चाइज क्रिकेटको अनुभवले खेलाडीलाई थप परिपक्व बनाएको बताए ।


प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?