Trending
>>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने >>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने >>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा >>   मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा
Logo
२९ कार्तिक २०८३, आईतवार
२९ कार्तिक २०८३, आईतवार

नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री


नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री

काठमाडौँ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल एयरलाइन्स कर्पोरेसनको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यदि यो कुनै निजी कम्पनी हुन्थ्यो भने हालसम्म लिक्विडेसन (समापन) मा गइसक्ने अवस्था रहेको बताएका छन् । मन्त्री पौडेलले नेपाल एयरलाइन्स नाफा कमाउने मात्र संस्था नभई राष्ट्रिय गौरव र ध्वजावाहक भएको उल्लेख गर्दै यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको बताएका छन् । उनले एयरलाइन्सको विद्यमान समस्या समाधानका लागि सार्वजनिक–निजी साझेदारी (एएए) मोडलमा जानुपर्ने सरकारको नीति रहेको स्पष्ट पारेका छन् । विगतमा कोभिड–१९ को समयमा ब्याजलाई पुँजीकरण (क्यापिटलाइजेसन) गरिएको विषयलाई उनले ‘मिटरब्याज’ सरहको व्यवहार भएको टिप्पणी गरेका छन् ।

संस्थानको व्यवस्थापकीय कमजोरी औंल्याउँदै मन्त्री पौडेलले जनशक्ति योजना, मार्केटिङ र परिचालन रणनीतिसमेत नभएको उल्लेख गरेका छन् । वाइडबडी जहाजहरूको ओभरहल र मेन्टेनेन्सका लागि आवश्यक पर्ने अर्बौंको बजेट व्यवस्थापन गर्न नसक्नुले एयरलाइन्सको वित्तीय क्षमता कमजोर रहेको स्पष्ट हुन्छ ।

उनले भने, ‘नेपाल वायुसेवा निगमको अवस्था अत्यन्त गम्भीर छ । निजी कम्पनी भएको भए यो अवस्थामा लिक्विडेसनमा जाने अवस्था आउन सक्थ्यो । तर यो नाफा कमाउन मात्र स्थापना भएको संस्था होइन, राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको संस्था हो । त्यसैले निगममा मेजर रिफर्म र पुनर्संरचना आवश्यक छ । ऋणको भार घटाउने, इक्विटी बढाउने र अत्यधिक ब्याजदर पुनरावलोकन गर्ने विषयमा सरकार र सम्बन्धित निकायले गम्भीर पहल गर्नुपर्छ । साथै जहाज थप्ने, लिजमा लिने र फ्लीट आधुनिकीकरण गर्नुपर्छ । निगममा वित्तीय, मानव संसाधन, मार्केटिङ र अपरेसनल योजना कमजोर छन् । वाइडबडी जहाजको ओभरहलका लागि आगामी केही महिनामै ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसको वित्तीय योजना तत्काल बनाउनुपर्छ । यस अवस्थामा सरकारको निर्णय मात्र पर्याप्त हुँदैन । निगमलाई पीपीपी वा निजी क्षेत्रको साझेदारी मोडलमा लैजाने विषयमा समेत व्यापक सार्वजनिक बहस आवश्यक छ । राष्ट्रिय ध्वजावाहकलाई दीर्घकालीन रूपमा सक्षम र आत्मनिर्भर बनाउने गरी छिट्टै ठोस निर्णय लिनुपर्छ ।’

पर्यटन प्रवद्र्धन र राष्ट्रिय आत्मविश्वासका लागि एयरलाइन्सको भुमिका महत्वपूर्ण रहेको बताउँदै उनले सरकार यसको पुनरुत्थानका लागि प्रतिवद्ध रहेको बताएका छन् । मन्त्री पौडेलले समितिले अगाडि बढाएको छलफलले राष्ट्रिय ध्वजावाहकलाई जोगाउन ठोस मार्गचित्र कोर्ने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?