काठमाडौँ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सरकार ठिक दिशामा अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन् ।
बिहीवार पार्टीको दुवै सदनको संसदीय समितिको संयुक्त बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले गरेको सकारात्मक कार्यमा नेकपाले सधैं सहयोग गर्दै आएको पनि बताएका छन् । उनले सरकारको ६ महिनाको समीक्षा गर्दा केही काम सकारात्मक भएपनि समग्रमा ठिक ढंगले जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन्। उनले दैनिक उपभोग्य वस्तुमा बढ्दो महंगीबारे पार्टीले जनतालाई प्रशिक्षित गर्ने कार्य गरिरहेको पनि बताएका छन् ।
उनले भने, ‘हामीले शुरुमै भनेका थियौँ सरकारले राम्रो काम गर्दा हामीले सहयोग गर्छौँ, नराम्रो गरेको ठाउँमा आलोचना गर्छौँ भनेर भनेका थियौँ । र यो ६ महिनामा सबै कुरा सकारात्मक छैनन् भन्ने त होइन । तर समग्रमा हेर्दा सरकार ठिक दिशातिर गइराख्या छैन । महंगी लगायतका समस्याको विषयमा जनतालाई प्रशिक्षित गरेका काम गरेका छौँ । अरु आन्दोलनका कुरा पछि हुन्छन् । विपद्पछिको प्रतिकार्यमा सबैभन्दा बढी सक्रिय नेकपा रह्यो ।’
रसुवा बाढीपछिको विपद् प्रतिकार्यमा नेकपा अग्रणी स्थानमा रहेको उनको दाबी छ ।
प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार