चितवन ।जिल्ला प्रशासन कार्यलय चितवनले विकट चेपाङ वस्तीमा घुम्ति शिविर संचालन गरेको छ ।
सदरमुकामबाट पुग्न दुई–तीन दिन लाग्ने चितवनको राप्ती नगरपालिकाको विकट पहाडी बस्तीमा प्रशासनले घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको हो । शिविरमार्फत ९० जना चेपाङ समुदायका नागरिकले नेपाली नागरिकता प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा गएको टोलीले राप्ती–१३ मा ८४ जना र राप्ती–१२ मा ६ जना गरी ९० जनालाई नागरिकता प्रदान गरेको हो । नागरिकता प्राप्त गर्नेमा लामो समयदेखि कागजातको अभावमा नागरिकताबाट वञ्चित रहेका वृद्धवृद्धा तथा दृष्टिविहीन चेपाङ नागरिकसमेत छन् । वर्षायाममा पहिरोको जोखिमका बीच प्रशासनको टोली विकट बस्तीमै पुगेको थियो ।
नागरिकता बनाउनकै लागि दुई दिन हिड्नुपर्ने भौगोलिक बाध्यता रहेका नागरिकलाई स्थानीय तहमै शिविर मार्फत सेवा उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय चितवनकी प्रशासकीय अधिकृत अन्तिम सिंजाली मगरले बताएकी छिन् । उनकाअनुसार प्रशासनले राप्तीका वडा नम्बर १०, ११, १२ र १३ मा घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरेको थियो । तर वडा नम्बर १० र ११ बाट आवश्यक कागजात पर्याप्त रूपमा नआएपछि १२ र १३ मा मात्रै शिविर सञ्चालन गरिएको उनले बताइन् । १२० जनालाई नागरिकता वितरण गर्ने लक्ष्य भएपनि ९० जनालाई मात्रै उपलब्ध गराईएको उनको भनाई छ । उनले स्थानीय नागरिकको समस्या र पीडा प्रत्यक्ष रूपमा देख्न पाएको तथा आफ्नै हातले हस्ताक्षर गरेको नागरिकता वितरण गर्न पाउनु आफ्ना लागि महत्वपूर्ण अनुभव भएको बताएकी छिन् ।
उनले भनिन् , ‘चितवनको अर्को कर्णालीजस्तो भनेर सुनेकी थिएँ । यहाँ आएर आफैंले भोगेँ। यहाँको अवस्था निकै कठिन रहेछ, सदरमुकामसम्म पुग्न दुई–तीन दिन खर्चिनुपर्ने ठाउँ पनि रहेछ । यहाँ आएर नागरिकता बाँड्न पाउँदा मलाई निकै सन्तुष्टि मिलेको छ । हामीले प्रमुख जिल्ला अधिकारीको निर्देशन अनुसार राप्ती १२, १३, १० र ११ मा घुम्ती शिविर राख्ने कि भन्ने थियो तर १० र ११ बाट त्यति डकुमेन्ट्सहरु आएन । १२ र १३ गरेर हाम्रो टोटल १२० को डकुमेन्ट आएको थियो ।’
शिविरमा नागरिकता वितरणसँगै जिल्ला निर्वाचन कार्यालयको टोलीले मतदाता परिचयपत्र समेत बनाएको थियो । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीको नेतृत्वमा बस्तीमै पुगेर नागरिकको मतदाता परिचयपत्र बनाईएको हो । शिविरमा नागरिकता बनाउन आएका सेवाग्राहीलाई खाजाको प्याकेटसमेत उपलब्ध गराइएको थियो । सेवाग्राहीहरु वडा कार्यलयमा नागरिकता लिन नै तीन चार घण्टा पैदल हिँडेर आएका थिए । वडामा नै नागरिकता पाएपछि उनीहरु खुशी भएका छन् । राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले नागरिकता नभएका चेपाङ समुदायका नागरिकलाई नागरिकता वितरणको लागी आवश्यक कागजात संकलन गरि प्रशासनसँग समन्वय गरेका थिए ।
प्रकाशित मिति: १५ आश्विन २०८३, बिहीबार