काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको हेलिकप्टर उद्धारका लागि १५ अर्ब रुपैयाँ खर्च भएको भनि आएको विषयमा कुनै सत्यता नरहेको बताएका छन् ।
बुधबार सिंहदरबारमासञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले हालसम्म बाढी प्रभावित नागरिकको हेलिकप्टर उद्धारका १४ करोड रुपैयाँ मात्र खर्च भएको विवरण प्राप्त भएको बताएका छन् । यद्धपी नेपाली सेनाले खर्च विवरण पठाउन बाँकी रहेको उनको भनाइ छ । उनल विपद् प्रतिकार्यमा सरकार अझै पनि क्रियाशील रहेको बताएका छन् । उनले नुवाकोट लगायतका स्थानमा सुत्केरी, गर्भवती महिला र बालबालिकाहरूलाई एउटै होल्डिङ सेन्टरमा राख्दा भएको असहजता र कमजोरीलाई सरकारले गम्भीरतापूर्वक लिएको पनि बताएका छन् ।
उनले भने, ‘हेलिकप्टर उद्धारका १५ अर्ब खर्च भएको कुराहरु आइराखेको छ । बिलसहित नै १५ अर्ब भनेर भनिरहेको छ । तर वास्तविक २० करोड रहेछ । १४, १५ करोड खर्च भएको विवरण बिलसहित प्राप्त भएको छ । नेपाल आर्मी आउन बाँकी छ । हामीले वृहत रुपमा एउटा नागरिकको लागि लागि खोज र उद्धार गरेका हौँ । हामी नागरिकप्रति जवाफदेही त हुनुपर्यो नि । अर्बौँ खर्च भएको रहेनछ । हामीसँग बिल छ ।’
उनले विपद् प्रतिकार्यमा सरकारले गरेको कामको गम्भीर समीक्षा गरिने पनि बताएका छन् ।
प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार