काठमाडौँ।नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकार अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाउँदै चाडपर्व सकिएलगत्तै सशक्त आन्दोलन गर्ने बताएका छन् ।
पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार महँगी, भ्रष्टाचार र कुशासनमा लिप्त भएको भन्दै मुलुकको अर्थतन्त्र र जनजीविका दयनीय अवस्थामा पुगेको दाबी गरेका हुन् । सचिव बस्नेतले पार्टीको हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले सरकारका जनविरोधी गतिविधि विरुद्ध प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिएका छन् । उनले बैठकले पार्टीभित्रको एकतालाई अझ सुदृढ गर्दै कार्यकर्ता पङ्क्तिलाई परिचालन गर्ने म्यान्डेट दिएको बताएका छन् । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र केही अभियन्ताहरूलाई गरेको गिरफ्तारीलाई बस्नेतले प्रतिशोधको राजनीति भनी टिप्पणी गरेका छन् । उनले यसलाई ‘छोरी कुटेर बुहारी तर्साउने’ रणनीतिको संज्ञा दिँदै सरकारको आयु अब धेरै नरहेको जिकिर गरेका छन् ।
उनले भने , ‘हामीले भ्रमहरू चिरेका छौँ र पार्टीलाई थप जुझारु बनाएका छौँ । सरकारका अधिनायकवादी हर्कत विरुद्ध अब एमाले टुलुटुलु हेरेर बस्दैन । मर्ने बेलामा कमिलाको पवाँख पलाउँछ भनेजस्तै यो सरकारको गतिविधि अन्तिम समयको हतासपूर्ण प्रयास हो ।’
मुलुकको आर्थिक अवस्थाबारे टिप्पणी गर्दै बस्नेतले पुँजीगत खर्च हुन नसक्नु, निजी क्षेत्र आतंकित हुनु र बैंकिङ क्षेत्रमा ऋण प्रवाह नहुनुले सरकारको नीतिगत असफलता प्रष्ट पारेको बताएका छन् । उनले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले सुशासनको नारा दिएपनि व्यवहारमा भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।
प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार