काठमाडौ। मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च शतर्कता र सावधानी अपनाउन अपिल गरेको छ ।
बोर्डले विशेषगरी यही असोज ९ गते शुक्रवारदेखि ११ गते आईतवारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेकाले आवश्यक परे गतिविधि स्थगित गर्न समेत आग्रह गरेको हो । नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले हाल पर्यटकीय मौसम भएकाले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रमहरू भइरहेको उल्लेख गर्दै सावधानी अपनाउन जोड दिएका छन्।
‘अहिले विभिन्न क्षेत्रमा हिमाल आरोहण, पदयात्रा, मेला तथा महोत्सवहरू भइरहेका छन् ।’ प्रवक्ता शर्माले भने, ‘भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै यस्ता कार्यक्रम गर्दा उच्च सतर्कता र आवश्यक सावधानी अपनाउन हामी विशेष अपिल गर्दछौँ ।’
जल तथा मौसम विज्ञान विभागकाअनुसार भोलि असोज ७ गते बुधवारदेखि नै कोशी, वागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ । आगामी असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, कोशी, मधेस, वागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
खराब मौसमका कारण बाढी, पहिरो तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचनाहरू निरन्तर पछ्याउन आग्रह गरेको छ ।
प्रवक्ता शर्माले भने, ‘मौसमसम्बन्धी पछिल्लो जानकारीका लागि पर्यटन बोर्ड र मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा सामाजिक सञ्जाल नियमित हेर्नुहुन अनुरोध गर्दछौँ । जोखिमयुक्त मौसममा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ ।’
पर्यटन बोर्डले कुनैपनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित पर्यटन व्यवसायीहरूसँग समन्वय गरी यात्राको तालिका तय गर्न पदयात्री तथा पर्वतारोहीहरूलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार