काठमाडौ। नेकपा (एमाले) का केन्द्रिय सदस्य गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको प्रतिवेदन र त्यसमा व्यक्त गरिएको आत्मालोचनालाई सकारात्मक रूपमा लिएको बताएका छन् ।
मंगलवार ललितपुरमा जारी पार्टीको केन्द्रिय कमिटी बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बाँस्कोटाले अध्यक्षको प्रतिवेदन सैद्धान्तिक रूपमा सही भएपनि त्यसको सफलता व्यवहारिक कार्यान्वयनमा भर पर्ने जिकिर गरेका छन् । नेता बाँस्कोटाले अध्यक्ष ओलीले विगतका कमजोरीहरूलाई महसुस गरी प्रश्तुत गर्नुभएको प्रतिवेदन ढिलै भएपनि स्वागतयोग्य रहेको बताएका छन् । पार्टीभित्र लामो समयदेखि चल्दै आएको पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहसका बारेमा सोधिएको प्रश्नमा उहँले सो विषय महाधिवेशनमा फेरि उठ्ने प्रस्ट पारेका छन् ।
उनले भने, ‘अध्यक्षले विगतका कमजोरीको समीक्षा गर्नु र आत्मालोचनासहितको प्रतिवेदन ल्याउनु पहिलो सुधारको संकेत हो । तर यी कुराहरू केवल कागजमा सीमित नभएर व्यवहारमा देखिनुपर्छ । नेतृत्व परिवर्तनको विषय कहिल्यै सकिँदैन, यो पार्टीको प्रक्रिया हो । अहिले हामी महाधिवेशनबाट पराजित भएको अवस्थामा छौँ, हारपछि सघाउने हाम्रो संस्कार हो । तर जब अर्को महाधिवेशन आउँछ, त्यतिबेला यो बहस स्वतः अगाडि आउँछ ।’
कार्यदलको प्रतिवेदन र तल्लो तहबाट आएका हजारौँ सुझावहरूलाई अध्यक्षको ४० बुँदे प्रतिवेदनले समेट्ने प्रयास गरेकोमा उनले सन्तोष व्यक्त गरेका छन् ।
प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलवार