काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेमा यातयात भाडा पनि नबढ्ने बताएका छन् ।
यातयात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रममा उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपनि नेपालमा सरकारले चाडवर्पको समयमा मुल्य बढाउन नहुने बताएका छन् । उनले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेमा सार्वजनिक यातायातको भाडा वृद्धि गर्न नहुने बताएका छन् । राज्यले पेट्रोलियम पदार्थमा थप घाटा व्यहोर्नुपर्ने अवस्था आएपनि कम्तीमा एक महिनासम्म मूल्यवृद्धिको भार उपभोक्तामाथि नथोपर्न उनले सरकारसँग आग्रह गरेका छन् । उनले सरकारले तोकेको भाडादरभन्दा बढी रकम असुल्ने अवस्था आउन नदिन आधिकारिक टिकट काउन्टर र सम्बन्धित व्यक्तिको नियमित अनुगमन आवश्यक रहेको बताएका छन् । बस, मिनीबस, माइक्रोबसलगायत सवारीसाधनको वर्गअनुसार सरकारले तोकेको भाडा नै लागू हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले यात्रुलाई आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन पनि आग्रह गरेका छन् ।
उनले भने, ‘आजको मितिबाट पेट्रोलियम पदार्थ अन्तराष्ट्रिय क्षेत्रबाट बढेर आयो भने पनि नेपाल सरकारले बढाउन भएन, पेट्रोलियम पदार्थको मूल्यलाई जतिसुकै घाटा पर्छ, राज्यले एक महिना सहनुपर्छ । तर मुल्य बढेर नआओस् यो कामना गर्छु । यदि पेट्रोलियम पदार्थको मूल्य अब बढ्नु हुँदैन । पेट्रोलियम पदार्थको कुनैपनि किसिमको मूल्य वृद्धि भएन भने तोकिएअनुसारको भाडा नै कायम रहन्छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएमा बाध्य भएर भाडा बढाउनुपर्ने हुन्छ । नत्र तोकिएको ठाउँमा कुनै पनि हालतले भाडा बेसी लिदैनन्, तोकिएको भाडामा टिकट पाउँछ ।’
अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधिमैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले अवरोध गरिरहेको पनि आरोप लगाएका छन् । प्रविधिसम्बन्धी कार्यविधि स्वीकृत भएर विभागमा पुगेको भएपनि कार्यान्वयनमा ढिलाइ भइरहेको उनको भनाई छ । उनले तत्काल अनलाइन टिकटिङसम्बन्धी कार्यविधि कार्यान्वयन गर्न सरकारसंग माग गरेका छन् । प्रविधिको प्रयोगमार्फत टिकटिङ प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवसायीहरू तयार रहेको उनको भनाई छ । उनले अग्रिम टिकट बुकिङ खोल्ने मिति तोक्न हतार नभएको पनि बताएका छन् । सबै तयारी गरेर असोज १५ भित्र टिकट बुकिङको मिति घोषणा गर्ने उनको भनाई छ ।
प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार