काठमाडौँ । सहकारी विभागले सहकारी संस्थाहरूको सन्दर्भ ब्याजदर घटाएर १३ प्रतिशत कायम गरेको छ। यसअघि सन्दर्भ ब्याजदर १६ प्रतिशत थियो।
नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुनेछ। अब सहकारी संस्थाले कारोबारको अवस्था र आवश्यकताका आधारमा १३ प्रतिशतभन्दा कम हुने गरी ब्याजदर निर्धारण गर्नुपर्नेछ। विभागका अनुसार सहकारीले हर्जाना लिँदा असुल हुन बाँकी ब्याज रकममा ५ प्रतिशतभन्दा बढी हर्जाना लिन पाउने छैनन्। साथै प्रशासनिक, सेवा, नवीकरण शुल्क वा फारम दस्तुरलगायतका नाममा ऋणीबाट थप रकम लिनसमेत रोक लगाइएको छ।
निर्धारित व्यवस्था पालना नगर्ने सहकारी संस्थामाथि कारबाही गरिने विभागले जनाएको छ।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहीबार