काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवालाई सहभागी भएर उद्घाटन गरिदिन आग्रह गरेका छन् ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशनको दिन पूर्वसभापति आएर उद्घाटन गरिदिनु पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन् । उनले पार्टी विधानअनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले पूर्वसभापतिको औपचारिक बिदाइको चरणमा पार्टी पुग्ने उल्लेख गरेका छन् । यसअघि पूर्वसभापति तथा अन्य नेताहरूले उठाएका विषयहरू सम्बोधन भइसकेपछि अब थप अलमल नगरी महाधिवेशनको प्रक्रियामा अघि बढ्नुपर्ने उनको भनाइ छ । थापाले पार्टीका पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई पनि नयाँ पुस्तालाई साथ लिएर अघि बढ्न आग्रह गरेका छन् । लामो समय पदाधिकारीका रूपमा काम गरेका नेताहरूलाई पार्टीले पूर्वपदाधिकारीका रूपमा छुट्टै सम्मान दिनुको कारण पद नभई उनीहरूप्रतिको भरोसा र सम्मान भएको उनले बताए ।
सभापति थापाले भने, ‘महाधिवेशनको दिनमा पूर्व पार्टी सभापतिज्यू आएर महाधिवेशनको उद्घाटन गरिदिनु हाम्रा लागि ठूलो सम्मानको विषय हो । पार्टीको विधानले पनि अब उहाँ पुनः सभापति हुने होइन, महाधिवेशनबाट नयाँ सभापति चयन हुने व्यवस्था गरेको छ । त्यसैले उहाँको सम्मानपूर्वक बिदाइ हुने समय पनि यही हो । सभापतिज्यूको अनुपस्थितिमा अन्य नेताहरूले उठाउनुभएका विषयहरू पनि सम्बोधन भइसकेका छन् । ती विषयहरू समाधान भइसकेपछि अब थप अलमल नगरी म सबैभन्दा पहिले पूर्व सभापतिज्यूलाई महाधिवेशनमा सहभागी भएर सहयोग गरिदिन अनुरोध गर्न चाहन्छु । त्यसैगरी, लामो समय पदाधिकारी भएर पार्टीमा योगदान दिनुभएका पूर्व वरिष्ठ नेताहरूलाई पनि म यहीँबाट आग्रह गर्न चाहन्छु । नेपाली कांग्रेसमा पूर्व पदाधिकारीहरूलाई छुट्टै सम्मान र आसन पदका कारण मात्र दिइएको होइन, उहाँहरूप्रतिको भरोसा र सम्मानका कारण दिइएको हो । आज नेपाली कांग्रेसमा नयाँ पुस्ताका साथीहरू आएका छन् । उहाँहरू यही पार्टीमा हुर्किएका, सिकेका र अगाडि बढेका साथीहरू हुन् । अहिले सबै पुस्तालाई जोडेर पार्टीलाई एकतावद्ध रूपमा अघि बढाउने प्रयास भइरहेको छ । त्यसैले पुरानो र नयाँ पुस्ताका सबै नेता–कार्यकर्ता एक ठाउँमा उभिएर महाधिवेशनलाई सफल बनाउन सहयोग गरौँ भन्ने मेरो आग्रह छ ।’
थापाले काँग्रेसका वरिष्ठ नेताहरूले पनि अहिलेको परिस्थितिमा सोचेर महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्ने बताएका छन् ।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहीबार