Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन


ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन

काठमाडौँ।ललितपुर महानगरपालिकाले ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ ।

महानगरले लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पुनर्निर्माण गरिएको पार्कसहितको सप्तापाताल पोखरीको शनिवार एक विशेष कार्यक्रमको आयोजना गरि उद्घाटन गरेको हो । पोखरीको महानगरका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य लगायतले संयुक्त रुपमा गरेका हुन् । महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठकाअनुसार यस परियोजनाको कुल क्षेत्रफल भने १३ रोपनी ६ आना २ पैसा ३ दाम रहेको छ । उक्त परियोजना करिब ४ करोड ७२ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको हो । ६.७१ रोपनी क्षेत्रफल रहेको पोखरीको पानी धारण क्षमता करिब १९ लाख लिटर रहेको श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार पोखरी वरिपरि करिब दुई मिटर चौडा पैदलमार्ग, घाँसे मैदान र फूलबारी निर्माण गरिएको छ । सार्वजनिक तथा परम्परागत उपयोगका लागि सात बे को एउटा र तीन बे का दुईवटा गरी तीन वटा फल्चा निर्माण गरिएको उनले जानकारी दिइन्। सुरक्षाका लागि बत्ती जडान गरिएको छ । चराचुरुङ्गी तथा अन्य जैविक प्रणालीमा असर नपरोस् भनेर कम प्रकाश दिने बत्ती प्रयोग गरिएको उनले जानकारी दिइन् । सप्तपाताल पोखरीलाई छेउमै रहेको पलेस्वा पोखरीसँग जोड्न पैदलयात्री पुलसमेत निर्माण गरिएको छ । उनकाअनुसार पोखरी प्रवेशका लागि पश्चिमतर्फ एक तथा पूर्वतर्फ दुई गरी तीनवटा सिँढी बनाइएको छ । पुनर्निर्माणका क्रममा परिसरमा रहेको पुरानो रूख संरक्षण गर्न मूल डिजाइनसमेत परिवर्तन गरिएको श्रेष्ठले जानकारी दिइन् । महानगरपालिकाले पोखरीमा नियमित पानी आपूर्ति सुनिश्चित गर्न पुरानो राजकुलो प्रणाली पुनर्जीवित गर्ने काम अघि बढाएको छ । यसका लागि गोदावरी नगरपालिकासँग सहकार्य भइरहेको उनले जानकारी दिएकी छिन् । नल्लु–टीकाभैरवदेखि सप्तपातालसम्मको करिब १४.२ किलोमिटर राजकुलो प्रणालीलाई चरणबद्ध रूपमा पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाई छ । राजकुलो प्रणाली पुनर्जीवित भएपछि सप्तपाताल पोखरीमा परम्परागत प्रणालीअनुसार पानी ल्याउन सहज हुने उनले बताइन् । पुनर्निर्माण गरिएको पोखरीलाई दीर्घकालीन रूपमा संरक्षण र सञ्चालन गर्न पानीको स्रोत पुनःस्थापना कार्यलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘यस परियोजनाको कुल निर्माण स्थलको क्षेत्रफल १३ रोपनी, ६ आना, २ पैसा, ३ दाम रहेको छ । त्यस्तै पोखरीको एक्चुअल क्षेत्रफल चाहिँ ६.७१ रोपनी रहेको छ अर्थात् कुल निर्माण स्थलको करिब ५० प्रतिशत भागमा पोखरी फैलिएको छ । पोखरीमा पानीको अनुमानित मात्रा १९ लाख लिटर रहेको हामीले चाहिँ अनुमान गरेका छौँ । त्यस्तै गरी पोखरीमा पर्खालबाट करिब २ मिटर चौडाइमा हामीले घाँसे मैदान विकास गरेका छौँ, फूलबारीहरू पनि विकास गरेका छौँ । त्यस्तै पोखरीको वरिपरि करिब २ मिटर चौडाइको पैदल मार्गको व्यवस्थापन गरिएको छ । पोखरीको वरिपरि निर्माण क्षेत्र स्थल भित्र हाम्रो यो परम्परागत स्वरूपको सार्वजनिक उपयोगको लागि सात बे को एउटा र तीन बे को दुइटा गरी कुल तीन वटा फल्चाको निर्माण गरिएको छ । त्यस्तै सुरक्षाको दृष्टिकोणले दुई वटा पोल सहितको बत्ती पनि जडान गरिएको छ । इकोलोजिकल्ली पनि र अलि फ्रेन्डली होस् भन्ने उद्देश्यले रात्रिको समयमा चराचुरुङ्गीलाई असर नपरोस् भन्ने उद्देश्यले एकदम डिम लाइटको पनि सहितको बल्बहरूको व्यवस्थापन गरिएको छ । हाम्रो नगर प्रमुखज्यूको जुनकिरी देखाउने जुन सपना छ, त्यो पनि राम्रोसँग देखियोस् । धेरै लाइट भयो भने फेरि देखिँदैन, इकोलोजिकल्ली पनि डिस्टर्ब हुन्छ, चराचुरुङ्गीलाई पनि डिस्टर्ब हुन्छ । त्यो अनुसारले त्यो कुरालाई पनि हामीले ध्यानमा राखेर एकदम मन्द प्रकाश सहितको बल्बहरूको जडान गरिएको छ । त्यस्तैगरी सँगै रहेको पलेसवा पोखरीसँग सप्तपाताल पोखरीलाई जोड्न पैदलयात्री एउटा पुलको पनि व्यवस्थापन गरिएको छ । पोखरीमा सर्वसाधारणलाई जानको लागि पश्चिम तर्फ एउटा र पूर्व तर्फ दुई वटा गरी कुल तीन वटा सिँढीहरूको व्यवस्थापन गरिएको छ । यस परियोजनाको कुल लागत ४ करोड ७२ लाखको हाराहारीमा रहेको छ ।’

लिच्छविकालदेखि अस्तित्वमा रहेको सप्तपाताल पोखरी पाटनको परम्परागत जल व्यवस्थापन प्रणालीको महत्वपूर्ण हिस्सा थियो । चक्रपथ निर्माण तथा विस्तारसँगै नल्लु–टीकाभैरव क्षेत्रबाट सप्तपातालसम्म पानी ल्याउने करिब १४.२ किलोमिटर लामो परम्परागत राजकुलो प्रणालीका विभिन्न खण्डमा अवरोध भएपछि पोखरीमा पानीको आपूर्ति घट्दै गएको थियो । पानीको स्रोत सुक्दै गएपछि पोखरी चौरमा परिणत भएको र अतिक्रमणमा परेको श्रेष्ठको भनाई छ । पोखरी संरक्षणका लागि स्थानीयवासी र लगनखेल वातावरण सुधार संस्थाले लामो समयदेखि पहल गर्दै आएका थिए । संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय पूर्ण स्थापितको नेतृत्वमा भएको संरक्षण अभियानपछि सर्वोच्च अदालतले पोखरीकै नाममा जग्गाको लालपुर्जा कायम रहने गरी फैसला गरेको श्रेष्ठले जानकारी दिइन् । जग्गा पोखरीको नाममा कायम भएपछि महानगरपालिकाले पुनर्निर्माण अघि बढाएको उनको भनाई छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?