Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

भरतपुर महानगरको बेरुजु सबैभन्दा कम


१ वैशाख, चितवन । देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरुजु निकै कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा छवटा महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा पनि भरतपुर महानगरको बेरुजु अन्य महानगर पालिकाको भन्दा कम रहेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु शून्य दशमलव ०८ प्रतिशत रहेको छ । पेश्कीबाहेकको यो बेरुजु सबैभन्दा बढी वीरगन्जको सात दशमलव ९४ प्रतिशत, काठमाडौँको एक दशमलव ४५ प्रतिशत, विराटनगरको तीन दशमलव ५८ प्रतिशत, ललितपुरको दुई दशमलव २२ प्रतिशत र पोखराको पाँच प्रतिशत रहेको छ । पेश्कीबाहेक बेरुजुमा अघिल्लो वर्ष भरतपुरको शून्य दशमलव २५ प्रतिशत रहेको थियो ।

लेखा परीक्षणको तुलनामा बेरुजु प्रतिशत भरतपुरको शून्य दशमलव ०९ प्रतिशत छ भने सबैभन्दा बढी वीरगन्जको नौ दशमलव १२ प्रतिशत रहेको छ । त्यस्तै विराटनगरको तीन दशमलव ९२, काठमाडौँको दुई दशमलव ६०, ललितपुरको सात दशमलव ०४ र पोखराको पाँच दशमलव ५४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा भरतपुरको बेरुजु शून्य दशमलव ५६ प्रतिशत रहेको थियो ।

सो आर्थिक वर्षमा पनि भरतपुरको बेरुजु सबैभन्दा कम थियो । त्यस वर्ष विराटनगरको सबैभन्दा बढी १७ दशमलव ५७ प्रतिशत, वीरगन्जको नौ दशमलव ८० प्रतिशत, ललितपुरको आठ दशमलव ०६ प्रतिशत, काठमाडौँको पाँच दशमलव ४० प्रतिशत र पोखराको ५ दशमलब ३५ प्रतिशत रहेको थियो ।

प्रतिवेदनमा उल्लेख भएअनुसार बेरुजुमध्ये पेश्कीसहितको बेरुजु रकम विराटनगरको रु २२ करोड ९५ लाख, वीरगन्जको रु ६७ करोड ७८ लाख, काठमाडौँको रु ६६ करोड १९ लाख, ललितपुरको रु ६१ करोड ९० लाख तथा पोखराको रु ७० करोड ६५ लाख छ भने भरतपुरको रु ६६ लाख मात्र छ । गत वर्ष विराटनगर महानगरपालिकाको लेखा परीक्षणको रकम रु पाँच अर्ब ८५ करोड ३३ लाख, वीरगञ्जको रु सात अर्ब ४३ करोड ४९ लाख, काठमाडौँको रु २५ अर्ब ४१ करोड ८८ लाख, ललितपुरको रु आठ अर्ब ७९ करोड ७९ लाख, भरतपुरको रु छ अर्ब ९६ करोड २६ लाख र पोखराको रु १२ अर्ब ७४ करोड ७५ लाख रहेको थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताइन् । ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फछ्र्यौटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम भएको उनले बताइन् । गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा समितिको क्रियाशीलताका कारण न्यून बेरुजु आएको दाहालले जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाले बेरुजु फछ्र्यौटका लागि अभियान नै सञ्चालन गरिरहेको उनको भनाइ थियो । जसको लागि सम्पर्क व्यक्ति तोकी बेरुजु फछ्र्यौटको काम गर्दै आइएको छ । आगामी दिनमा बेरुजु फछ्र्यौट केन्द्र स्थापना गरी अगाडि बढ्ने महानगरपालिका प्रमुख दाहालले बताइन् । विगत आर्थिक वर्षको सबै बेरुजुलाई फछ्र्यौट गर्दै जाने महानगरपालिकाले जनाएको छ ।

उनले भनिन्, “जवाफदेहीता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।” सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको भन्दै महानगरप्रमुख दाहालले छिटो–छरितो सेवा प्रवाहमा महानगर लागेको जानकारी दिइन् ।

महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले कुशल र मितव्ययी नेतृत्व एवं पारदर्शी कार्यशैलीकै कारण बेरुजु रकम घटाउन सफल भएको बताए । खर्चमा गरिएको मितव्ययिता नियम कानुनको परिधिमा रहेर खर्च गर्ने पद्धतिको विकास, आन्तरिक नियन्त्रण पद्धतिमा सुदृढीकरणका कारण बेरुजु घटाउन सफल भएको उनि बताउँछन् । महानगरले तहगतरूपमा बलियो अनुगमन संयन्त्र बनाएको र मापदण्ड कार्यविधिको पूर्णपालना गरेको प्रमुख दाहालको भनाइ छ ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?