काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री बालेन्द्र साहमाथि नेपालमा राजा चाहिन्छ भन्ने चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी रहेको जिकिर गरेका छन् ।
चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष लिङदेनले बालेन्द्र साहले नेपालमा राजा ल्याउँछ भनेर जनताले राप्रपालाई भोट नदिई रास्वपालाई मत दिएको दाबी गरेका छन् । नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर जनताले भोट दिएकाले उनीहरुको चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी पनि सरकारलाई भएको उनको भनाई थियो ।
अध्यक्ष लिङदेनले भने,‘यो अवसर गुमाउनु भयो भने धोका तपाईको पार्टी र नेतृत्वलाई मात्रै हुने छैन । सिंगो देशलाई हुनेछ । त्यसकारण मेरोआग्रह छ यो मौका पारेर यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुहोस । यो पटकको मतपरिणाम हेर्दा कुन राजनीतिक दर्शनले काम ग¥यो ? कुन राजनीतिक दलहरुको संगठनले काम ग¥यो ? यो एउटा यस्तो चुनाव भयो, जहाँ जहाँ राजनीतिक दलको संगठनले काम गरेन, पैसाले काम गरेन , आज झण्डै दुई तिहाई मत ल्याउने राजनीतिक दलले अहिले पनि ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गरेको छैन । सबै वडामा, गाउँपालिकामा आफनो संगठन बनाईसकेको छैन । तर जनताले उसलाई झन्डै दु्इ तिहाई बहुमत दियो । आज जनता राजनीतिक दलहरुको भन्दा, राजनीतिक दल र संगठन भन्दा अरु एक कदम अगाडि सरेर निर्णय गर्न अग्रसर भएको छ । र यो जनताको विश्वासलाई निराशामा परिणत हुन नदिनुहोस भनेर म मेरो शुभकामना छ । अघि सिकेजी यो जनमतमा मेरो पार्टीको पनि भोट छ भनेर । प्रधानमन्त्रीजीलाई थाहा छ होला, सभापतिजीलाई थाहा छ होला नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट छ तपाईहरुलाई । नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा । तर राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर तपाईलाई भोट दिएका मान्छे छन् । तपाईहरुले जनताको विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ । त्यसकारण तपाईहरुको विशिष्ट जिम्मेवारी छ ।’
अध्यक्ष लिङदेनले रास्वपाले देश बनाउन पाएको अवसर गुमाए सिंगो मुलुकले धोका पाउने पनि बताएका छन् ।
प्रकाशित मिति: ७ असार २०८३, आईतवार