Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

आगामी आर्थिक वर्षको बजेट सार्वजनिकः आयकरको सीमा १० लाख पुर्‍याइयो


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्यय विवरण (बजेट) सङ्घीय संसदको संयुक्त बैठकमा प्रश्तुत गर्नुभएको छ । शुक्रवार बजेट वक्तव्य जारी गर्दै उहाँले मुलुकको अर्थतन्त्रमा संरचनात्मक सुधार, सुशासन र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ नयाँ नीति तथा कार्यक्रमहरूको घोषणा गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले उद्यम व्यवसायलाई प्रोत्साहन र मध्यम वर्गलाई राहत दिने उद्देश्यले करका दरहरूमा महत्वपूर्ण पुनरावलोकन गरिएको जानकारी दिनुभयो । नयाँ व्यवस्थाअनुसार व्यक्तिगत आयकरतर्फको छुटको सीमा दोब्बर गरी वार्षिक १० लाख रुपैयाँ कायम गरिएको छ । साथै, व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत विन्दुले घटाइएको छ ।

औद्योगिक उत्पादनलाई बढावा दिन २७३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटाइएको छ । तयारी मालवस्तुको तुलनामा कच्चा पदार्थको भन्सार कम्तीमा एक तह न्युन हुने नीति लिइएको छ। यसैगरी, विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा सीमित गरिएको छ भने ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको छ ।

बजेटले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न उपभोक्ताले डिजिटल माध्यमबाट भुक्तानी गर्दा बिजक जारी भएकै समयमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता पाउने व्यवस्था गरेको छ । सेयर बजारमा सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्ने पुँजीगत लाभ करलाई अन्तिम कर मानिने व्यवस्था समेत गरिएको छ ।

सरकारले सार्वजनिक खर्च कटौती र प्रशासनिक संरचनालाई चुस्त बनाउन ठोस कदम चालेको छ । २२ वटा सङ्घीय मन्त्रालयको संख्या घटाएर १८ मा झारिएको छ । यसका साथै ३१ वटा सरकारी निकाय खारेज, ६ वटाको मर्जर, ६ वटा हस्तान्तरण र १८ वटा निकायको पुनर्संरचना गरिने भएको छ ।

निजामती, सेना, प्रहरी र शिक्षकको सेवा–सुविधामा समयसापेक्ष वृद्धि गर्ने प्रतिवद्धता जनाउँदै मन्त्री वाग्लेले कर्मचारीतन्त्रलाई कार्यसम्पादनमा आधारित र जवाफदेही बनाइने बताउनु भयो । कार्यालय सञ्चालन खर्चमा भारी कटौती गरिएको छ भने तालिम, उपकरण खरिद र विभिन्न कोषहरू मार्फत दिइने अतिरिक्त सुविधाहरू बन्द गरिएको छ ।

अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक बजारको शिथिलता र न्यून लगानी अझै चुनौतीको रूपमा रहेको उल्लेख गर्नुभयो । सरकारले वैदेशिक विनिमय सञ्चिति र वित्तीय प्रणालीको पर्याप्त तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने लक्ष्य लिएको छ । कर विवाद समाधानका लागि निर्धारित करमा १ प्रतिशत थप गरी बुझाएमा बाँकी जरिवाना र ब्याज मिनाहा हुने गरी विशेष सहुलियत योजना समेत बजेटमा समावेश गरिएको छ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?