काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग सम्बन्धित निर्माण कम्पनीका कार्यालयहरूमा सोमबार छापा मारिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ र हेटौँडास्थित उनका व्यावसायिक कार्यालयहरूमा एकसाथ छापा हानेको हो।
हेटौँडाको सानोपोखरामा सञ्चालित ‘बानियाँ निर्माण सेवा (बीएनएस)’ तथा काठमाडौँस्थित कार्यालयमा गरिएको छापामार कारबाहीमार्फत आवश्यक कागजात र विवरण संकलन गरिएको विभागले जनाएको छ।
‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि अवैध रूपमा सम्पत्ति आर्जन गरेको र सम्पत्ति लुकाएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। यससँगै उनको निजी निवाससमेत निगरानीमा राखेर थप प्रमाण संकलन गर्ने प्रक्रिया जारी रहेको जनाइएको छ।
उच्च पदमा रहेका व्यक्तिसँग जोडिएको यो घटनाले प्रदेशस्तरको राजनीतिक तथा प्रशासनिक वृत्तमा तरंग पैदा गरेको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार