काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय शिक्षाको गुणस्तर सुधार महानगरको मुख्य प्राथमिकता भएको बताएकी छिन् ।
महानगरको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधार’ विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। महानगरले सार्वजनिक शिक्षाका लागि पूर्वाधार निर्माण र प्रविधिमा उल्लेख्य लगानी गरिहेको उल्लेख गर्दै उनले यसको प्रभावकारीतामा ध्यान दिनुपर्नेमा जोड दिएकी छिन् उनले शिक्षामा लगानी बढाउनु मात्र पर्याप्त नहुने भन्दै त्यसलाई शिक्षामा गुणस्तर ल्याउनेगरी काम गर्न सरोकारवालालाई आग्रह गरेकी छिन् । उनले महानगरभित्रका सबै विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेको उल्लेख गर्दै त्यसलाई आधुनिक शिक्षण विधिसँग जोड्न विद्यालयलाई आग्रह गरेकी छिन् ।
उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । हामी विद्यालय शिक्षाको क्षेत्रमा नयाँ नयाँ कार्यक्रमहरु गर्दै आइरहेका छौँ । त्यति मात्र नभई हामीले शिक्षाको गुणस्तरका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत लगानी गरिरहेका छौँ । अब पूर्वाधारको त्यस्तो समस्या छैन । केही विद्यालयमा उपलब्ध पूर्वाधारले पुग्दैन भन्ने कुरा पनि आएका छन् । ती कुराहरु पनि हामीले सम्बोधन गर्ने नै छौँ । म अहिले सबै विद्यालयहरुलाई के आग्रह गर्न चाहान्छु भने हामीसँग उपलब्ध पूर्वाधारको सदुपयोग गरौँ । विद्यालयमा उपलब्ध सबै प्रकारका पूर्वाधारको सही सदुपयोग गर्ने जिम्मा शिक्षक र अभिभावकको नै हो । हामीले आधुनिक शिक्षाको कुरा गरिरहेका छौँ । सबै विद्यालयमा डिजिटल बोर्ड पुगिसकेका छन् । ती डिजिटल बोर्डहरु पहिलेका ब्ल्याक बोर्डको रिप्लेसमेन्ट मात्रै होइन । ती बोर्डहरुलाई प्रभावकारी गुणस्तरीय शिक्षासँग जोड्न म हार्दिक अनुरोध गर्दछु । शिक्षकको तालिमका लागि पनि महानगरले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ । शिक्षकको क्षमता विकासमा कञ्जुस्याइँ गर्दैनौँ ।’
शिक्षकको क्षमता विकासका लागि महानगरले निरन्तर तालिमका कार्यक्रम समेत सञ्चालन गरिरहेको उनको भनाइ छ ।
प्रकाशित मिति: २० बैशाख २०८३, आईतवार