काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरु जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा अघि बढेको बताएकी छिन् ।
मदन भण्डरीको ७५ औँ जन्मजयन्तिको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जबजले नेपालको कम्युनिष्ट आन्दोलनलाई संगठित र सशक्त ढंगले अघि बढाएको जिकिर गरेकी छिन् । आफ्ना पति मदनलाई दूरदृष्टि भएको नेताको रुपमा स्मरण गराउँदै पूर्वराष्ट्रपति भण्डारीले नेपालको राजनीतिमा मदन भण्डारीले राजनीतिक तथा वैचारिक हिसावले जीवन्तता पाएको दावी समेत गरिन् । उनले मदन भण्डारीको दर्शनलाई एमालेले सबै कमिटीहरुमार्फत देशव्यापी रुपमा अघि बढाउन आवश्यक रहेको समेत बताइन् । मुलुकको समृद्धि र राष्ट्रिय एकताको लागि पनि एमालेले सो विचारलाई सबै कमिटीमार्फत अघि बढाउन आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो ।
उनले भनिन्,‘म उहाँलाई स्मरण गर्न चाहन्छु कि उहाँलाई हामीले भौतिक रुपमा गुमाएको करिव ३० वर्ष बढि भईसकेको छ । तर पनि भावनात्मक रुपमा आत्मीय हिसावले बैचारिक हिसावले र राजनीतिक हिसावले नेपाली जनजीवनमा उहाँ जीवन्त नै रहनुभएको छ । नेपाली समाजमा उहाँ जीवन्त हुनुहुन्छ । उहाँ एउटा राष्ट्रवादी नेता हो । र, दूरदृष्टि भएको नेता हो । त्यसैको मार्गदर्शनमा नै अहिलेसम्म नेपालको कम्युनिष्ट आन्दोलन एक ढंगले संगठित र सशक्त ढंगले अघि बढेको छ भन्ने कुरा पनि म यहाँहरुलाई राख्न चाहन्छु । आज राखेको जुन विषय छ । अलि भेग नै जस्तो देखिन्छ । बहुदलीय प्रणाली त्यहाँ बहुदलीय जनवाद भनिएको छैन । सामाजिक सदभाव र राष्ट्रिय एकता फेरी सामाजिक एकता, सद्भाव र राष्ट्र निर्माण भनेर निकै भेगको विषय छ । संसारमा धेरै दर्शन चलेका छन । धेरै देशहरुले विभिन्न दर्शनहरुलाई अनुशरण गरिरहेका बेलामा मलाई लाग्छ, यो व्यवस्थापन समितिले पनि जनताको बहुदलीय जनवादमा आधारित रहेर सन्दर्भ जननेताको जन्मजयन्ति रह्यो । जबजकै आधारमा सामाजिक एकता, सदभाव र राष्ट्र निर्माण समग्र एउटा कुरालाई हेरेर विषय बनाएर प्रश्तोतालाई विषय दिएजस्तो मलाई लाग्छ । त्यसैले विषय अहिलेको समसामयिक सन्दर्भमा निकै महत्वपूर्ण छ । आज देश जुन गतिमा गईरहेको छ । हामीले यी विषयहरुलाई हेरेर अब राम्रोसँग अध्ययन गरेर हाम्रो देशको आवश्यक्ता अनुसार हामी अघि बढ्नुपर्ने हुन्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यक्तालाई सम्बोधन हुने गरी जवजलाई अघि बढाउनुपर्नेमा पनि जोड दिएकी छिन् ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार