Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’


सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’

काठमाडौँ । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आफू व्यक्तिकेन्द्रित नभई संस्थाको गरिमा उच्च बनाउन केन्द्रित हुने बताएका छन् । संसदीय मामिला पत्रकार समाजका पदाधिकारीहरूसँगको भेटमा उनले आफू संसदजस्तो गरिमामय संस्थाको नेतृत्व गरिरहेकाले यसको सम्मान र मूल्य–मान्यता जोगाउनु आफ्नो मुख्य जिम्मेवारी रहेको उल्लेख गरेका छन् । उनले आफ्नो तर्फबाट कुनै गल्ती भएमा तुरुन्तै स्वीकार गर्न र माफी माग्न तयार रहेको बताउँदै आफ्ना कमजोरीहरू बेलैमा औंल्याइदिन पत्रकारहरूलाई अनुरोध गरेका छन् ।

सभामुख अर्यालले भने, ‘विगतका सभामुखहरूबाट भएका राम्रा कामहरू म कपी गर्नेछु र ती नजिरहरूलाई अझ सुदृढ बनाउनेछु । तर, यदि कतै त्रुटि वा कमीकमजोरी भएको छ भने त्यसलाई नदोहो¥याउन म सचेत छु । मलाई कसैले प्रहार गर्दा क्षणिक फाइदा होला तर संस्थालाई प्रहार गर्दा समाजलाई ठूलो घाटा हुन्छ । त्यसैले संस्थालाई सुदृढ बनाउने गरी यहाँहरूको आलोचनात्मक साथको अपेक्षा गरेको छु ।’

नेपाली जनताले संसदबाट गरेको अपेक्षाभन्दा अझ बढी परिणाम दिन आफू क्रियाशील रहने उनको भनाइ छ । सभामुख अर्यालले संसद र संसदीय समितिका गतिविधिलाई व्यवस्थित बनाउन सञ्चारकर्मीहरूको भुमिका महत्वपूर्ण हुने बताएका छन् । संसदको सूचना प्रवाह र प्रश्नोत्तरको शैलीलाई अझ सुसंस्कृत बनाउनुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय पत्रकारितामा देखिएको भीड र प्रश्न सोध्ने प्रक्रियाप्रति संकेत गर्दै उनले भने, ‘कहिलेकाहीँ एउटा प्रश्नको उत्तर आउन नपाउँदै अर्को प्रश्न गरिँदा वातावरण इरिटेटिङ बन्न सक्छ । कम्तिमा एकजनाले सोधेको प्रश्नको उत्तर आउन्जेल धैर्य गर्ने संस्कार बसाल्न सके अझ राम्रो हुने थियो ।’

सभामुख अर्यालले नयाँ र पुराना पत्रकारहरूबीचको व्यवस्थापन पत्रकार समाज आफैँले गरिदिए आफूहरूलाई सहजीकरण हुने बताएका छन् । संसद भवनको साँगुरो संरचना र प्रवेशमा रहेका कठिनाइहरूबारे अवगत रहेको बताउँदै उनले नयाँ संसद भवनमा सरेपछि यी समस्याहरू हल हुने विश्वास दिलाए । उनले पत्रकारको पहुँचलाई लिएर आफू सधैँ उदार रहने र सूचना लुकाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

सभामुख अर्यालले कानून निर्माण प्रक्रियालाई तिब्र गतिमा अघि बढाउने आफ्नो योजना रहेको बताएका छन् । विकास, समृद्धि र नागरिकको खुसीका लागि कानुन निर्माणमा हुने ढिलाइले समाजलाई अपूरणीय क्षति पुग्ने उनको ठहर छ ।

‘हामीसँग पाँच वर्ष छ नि भनेर बिस्तारै काम गर्नु भनेको नागरिकले पाउने सेवा ढिलो बनाउनु हो । जति छिटो कानुन बनाउँछौँ, नागरिकले त्यति नै छिटो त्यसको लाभ प्राप्त गर्छन् । त्यसैले म विधि, प्रक्रिया र संविधानलाई अक्षरशः पालना गर्दै जतिसक्दो फास्ट काम गर्ने तयारीमा छु ।’ उनले भने।

उनले बजेट अधिवेशनलाई अझ प्रभावकारी बनाउन स्टेकहोल्डरहरूसँग छलफल गरिरहेको जानकारी पनि दिएका छन् ।

सभामुखले भने,‘मेरो हुटहुटी भनेको यो पुस्ताले नै परिणाम देख्न पाओस् भन्ने हो । अब परम्परागत शैलीको राजनीति होइन, परिणाममुखी काम गरेर जनताको अनुहारमा खुशी ल्याउनुपर्छ ।’

सभामुख अर्यालले नेपाली समाजमा नेताको पुरानो छवि बदल्न आवश्यक रहेको धारणा राखेका छन् । राजनीतिज्ञ भनेपछि एउटा विशेष लुगा लगाउने र विशेष शारीरिक बनावट हुनुपर्ने परम्परागत चिनारीलाई परिवर्तन गर्नुपर्ने उनको तर्क छ ।

‘हामीले चप्पल लगाउने हरेक नागरिकलाई जुत्ता लगाउने बनाउनु छ, साइकल चढ्नेलाई मोटरसाइकल र गाडी चढ्ने बनाउनु छ । देश र जनता दुवै धनी हुनुपर्छ । गिटी कुट्नेले पनि गर्वका साथ मेरो सरकार छ भन्न सकोस् र अर्बपतिले पनि राज्यको सेवा सहजै पाउन सकोस् ।’

सभामुख अर्यालले आफू आम नागरिकजस्तै‘फ्यामिलियर’ हुन चाहेको बताउँदै आवश्यकभन्दा बढी ‘सभामुख’ भनेर आफूलाई समाजभन्दा टाढाको पात्र नबनाउन आग्रह गरेका छन् । अस्पतालमा पहुँचको आधारमा नभइ नागरिकको अधिकारको आधारमा बेड पाइने र विद्यालयमा पहुँचको आधारमा भर्ना हुने प्रथा अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्।

सभामुख अर्यालले संसदको नयाँ नियमावली मस्यौदामा पत्रकारहरूको सल्लाह र सुझावलाई महत्व दिइने बताएका छन् । संसदीय समितिहरूमा पत्रकारहरूको पहुँच र रिपोर्टिङ सहज बनाउने विषयमा उहाँले गम्भीर रहेको उल्लेख गरेका छन् ।

‘हामी लोकतन्त्रमा छौँ, जहाँ वाक स्वतन्त्रता र सूचनाको हक प्रमुख हुन्छ । म त सबै कार्यक्रम लाइभ गराउनुपर्छ भन्ने मान्यताको मान्छे हुँ, त्यसैले सूचना लुकाउने वा लुकाउनुपर्छ भन्ने मेरो उद्देश्य छैन ।’

नियमावली मस्यौदा समितिमा पत्रकारहरूको जिज्ञासा र पहुँचबारे उहाँले उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । विगतका कयौँ नजिरहरू प्रविधि र नयाँ पुस्ताको अपेक्षाअनुसार सुधार्दै लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनले संसद सचिवालयका सानातिना समस्यादेखि ठूला नीतिगत विषयसम्म पत्रकारहरूसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?