काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले १३ दिनसम्म हिरासतमा राखेपछि अन्ततः उनलाई पत्नी राधिका शाक्यको जिम्मा जमानीमा छाडिएको हो ।
ओलीले आफ्नो रिहाइपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले आफूविरुद्ध फौजदारी अभियोग लगाएको आरोप लगाएका छन् । उनले १३ दिनसम्म गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै अन्ततः न्यायको जित भएको बताएका छन् ।
रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, राजनीतिक दल तथा नेताप्रति उनले आभार व्यक्त गरेका छन् । साथै सर्वोच्च अदालतका सम्मानित न्यायाधीश र मानवअधिकारप्रति संवेदनशील प्रहरी प्रशासनको भूमिकाको समेत प्रशंसा गरेका छन् ।
ओलीले हिरासतका क्रममा आफूलाई मानसिक र शारीरिक रूपमा पीडा दिने प्रयास गरिएको आरोप पनि लगाएका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आफूलाई कुटपिट गरिएको दाबी गर्दै उनले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च राज्यले व्यहोर्नुपर्ने बताएका छन् । साथै, आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै केही दिन अस्पतालमै बसेर उपचार गर्ने जानकारी दिएका छन् ।
यस घटनाले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ भने सरकारको कदमप्रति विभिन्न कोणबाट आलोचना र समर्थन दुवै भइरहेको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहीबार