काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनको विषयमा पार्टीले अहिले नै कुनै छलफल शुरु नगरेको स्पष्ट पारेका छन् ।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले पहिला सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मात्र उपसभामुखको बारेमा छलफल अगाडि बढ्ने बताएका छन् । उनले उपसभामुखको चयनमा संवैधानिक व्यवस्था, व्यावहारिक पक्ष र विगतका अभ्यासहरूलाई मध्यनजर गरिने स्पष्ट पारेका छन् । संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरू र संसदीय अभ्यासलाई सन्तुलित रूपमा लैजानुपर्नेमा जोड दिँदै उनले कतिपय अवस्थामा उम्मेदवारी नहुने परिस्थिति पनि आउन सक्ने संकेत गरेका छन् । लामिछानेले अन्य दलहरूसँगको समन्वय र संसदीय प्रक्रियाको चरणवद्ध विकासले नै आगामी बाटो तय गर्ने विश्वास व्यक्त गरेका छन्। लामिछानेले भने। उनले सभामुखले प्रतिपक्षलाई दमन गर्ने वा नागरिकका मुद्दाहरूलाई बन्देज लगाउने खालको व्यवहार गर्न नहुनेमा खबरदारी गरेका छन् ।
उनले भने, ‘हामी अहिले उपसभामुखको छलफलमा प्रवेश गरेका छैनौँ । पहिला सभामुखको काम सकौँ, त्यस पछाडि मात्र उपसभामुखबारे छलफल गरौँला । संवैधानिक व्यवस्था र व्यावहारिक परिस्थिति दुवैलाई हेरेर हामी अगाडि बढ्छौँ । जुन स्पिरिटमा मैले संसदमा आफ्नो मन्तव्य राखेको थिएँ, पार्टी त्यही स्पिरिटमा अडिग छ । सभामुख भइसकेपछि उहाँ पार्टीको रहनुहुन्न। पार्टीमा रहँदाका अनुभव र असहजतालाई उहाँले व्यवहारमा उतार्दा लोकतान्त्रिक मूल्य मान्यतालाई ध्यान दिनुपर्छ ।’
लामिछानेले सभामुखको भुमिका निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिएका छन् । सभामुख पदमा निर्वाचित भइसकेपछि व्यक्ति कुनै विशेष राजनीतिक दलको नभई सिङ्गो सदन र सबै सांसदहरूको साझा अभिभावक हुनुपर्ने उनले बताए ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार