काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले पछिल्ला राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले नेपालमा राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्वपूर्ण सूचक भए पनि हालका घटनाले देशको राजनीतिक अवस्थाप्रति प्रश्न उठाएको बताएका छन्। उनले बालेन शाह नेतृत्वको सरकारमाथि अनुभवहीन र विवादित व्यक्तिलाई गृहमन्त्री बनाएको आरोप लगाएका छन्।
बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणलाई राजनीतिक प्रतिशोधको संकेत भएको उल्लेख गरेका छन्।
उनले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै बिहान ८:३० बजे बस्ने सचिवालय बैठकपछि थप कार्यक्रम सार्वजनिक गरिने जानकारी दिएका छन्।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार