काठमाडौँ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै अब आफ्नो पार्टी सशक्त प्रतिपक्षको भुमिकामा उत्रिने बताउनुभएको छ ।
बिहीवार निर्वाचन आयोगले आयोजना गरेको प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकरात्मक कामको लागि सहयोग गर्ने बताउनु भयो । उहाँले एमाले स्थायित्वको पक्षमा रहेकोले निर्वाचनले देशलाई राजनीतिक स्थिरता दिएको बताउनु भयो । सचिव अर्यालले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि, महिला र ज्येष्ठ नागरिकको सम्मान लगायतका काममा सरकार केन्द्रित हुनुपर्नेमा जोठ दिनुभयो । राजनीतिक अस्थिरता नै विकास र समृद्धिको प्रमुख बाधक भएको उहाँको भनाई छ । नयाँ शक्तिले झन्डै दुई तिहाइ जनसमर्थन पाएको अवस्थामा सरकारप्रति जनताको अपेक्षा अझ उच्च रहेको उहाँले बताउनु भयो । एमालेले प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्रयाकमा ल्याउने उहाँको भनाई छ । संसदमा एमालेको भूमिका जनताको हित र राष्ट्रहितको पक्षमा सशक्त हुने बताउँदै उहाँले राम्रो काममा सहयोग र गलत कार्यमा कडा खबरदारी गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘जनताले प्रकट गरेको मतप्रति हाम्रो सम्मान छ । हामीलाई मत किन दिनुभएन हामीले भनेको छैन । यो चुनावको रिजल्ट जनताको अभिमत हो । हाम्रो जनताको अभिमतप्रति सम्मान छ, जहिल्यैपनि, चुनावको परिणामलाई स्वीकार गर्दै हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्दैछ, त्यो सरकार राम्रोसंग चलोस् भनेका छौँ । हामी स्थायित्वका पक्षमा छौँ । चुनावको परिणामलाई स्वीकार गर्दै हामी आफ्नो असफलताको कारण समिक्षा गर्छौँ । प्रतिपक्षको भुमिकामा एमालेलाई तपाईहरुले ससक्त देख्नुहुनेछ । हामी राष्ट्रिय स्वाभिमानको झण्डा कमजोर भएको देख्न सक्दैनौ । हामी आफू सकिएको देख्न सक्छौ, तर राष्ट्र कमजोर, राष्ट्रिय स्वाभिमान कमजोर भएको देख्न सक्दैनौँ । कहीँ त्यस्तो भएको संकेत भयो भने हामी कुनैपनि हालतमा राष्ट्रिय स्वाभिमान झुक्ने काम यो सरकारलाई गर्न दिँदैनौ । त्यसैले हाम्रो खरो पहरेदारी हुन्छ । आज केही नभएको होइन, तर जनताको अपेक्षा के हो भने मुलुकमा रोजगारी । बेरोजगारी समस्याको समाधान हुनप¥यो, वृद्ध र महिलालाई सम्मान हुनुप¥यो, उत्पादनमा वृद्धि हुनुप¥यो । हामी आत्मनिर्भर बन्ने दिशातिर जानुप¥यो, सधै मगन्ते हुनुभएन । विकास र समृद्धिको बाधक राजनितिक अस्थिरता हो । त्यसैले अहिले कसैले छुन नसक्नेगरि झन्डै दुई तिहाई नयाँ शक्तिले प्राप्त गरेको छ । नयाँ शक्ति हो, जोस, जाँगर छ, खबरदारी पनि छ । त्यसकारण हामी पनि प्रतिपक्षबाट जनताको मतलाई तलमाथी गर्न पाउँदैनौँ भनेर खबरदारी गर्नेछौँ र सही ट्रयाकमा ल्याउनेछौँ । जनताको पक्षमा, राष्ट्रको पक्षमा हाम्रो भुमिका संसदमा सशक्त हुन्छ, सरकारले ल्याएका राम्रा कामको लागी सहयोग हुन्छ, नराम्रा काम, जनहित र राष्ट्रहित विपरितको कामको लागि हाम्रो खवरदारी हुन्छ ।’
उहाँले एमालेले निर्वाचनमा पाएको असफलताको समिक्षा गर्ने गरेर कमी कमजोरीलाई सुधार गर्ने बताउनु भयो ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहीबार