Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड


२९ चैत्र, भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन् । भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नवआयुक्तहरुलाई निर्देशन दिँदै उनले भने, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरु र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको सही आङ्कलन गरी जटिल चुनौतीबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता हो ।”

नेपाली सेनाले हासिल गरेको राष्ट्र र जनताको विश्वास कार्यसम्पादनमा स्पष्ट झल्कने गरेको उनले चर्चा गरे । प्रधानमन्त्री दाहालले यस्तो सङ्गठनको आयुक्त भई राष्ट्र सेवा गर्ने अवसर प्राप्त हुनु आफैँमा एक गौरवपूर्ण उपलब्धि भएको भन्दै यस गर्वको क्षणलाई आफ्नो सैनिक सेवाको अन्तिम घडीसम्म कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन हुन नवआयुक्त अधिकृतहरुलाई निर्देशनसमेत दिए ।

नवआयुक्तहरुको काँधमा एक गहन राष्ट्रिय जिम्मेवारी थपिएको छ भन्दै उनले यो राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट सम्पादन गर्दै, नेपाली सेनाको छविलाई थप उचाइमा पुर्याउने जिम्मेवारी पनि थपिएको बताए । संसारभरि वीर गोर्खालीको देश भन्ने पहिचान पनि नेपाली सेनाकै बहादुरी र वीरताबाट हासिल भएको हो भन्दै उनले यस पहिचानलाई नेपाली सेनाले आधुनिक हातहतियार, प्रविधिमैत्री, तालिम, स्रोतसाधन र सम्पन्न उच्च हौसला युक्त उत्कृृष्ट सेनाका रुपमा स्थापित गरेको बताए ।

नेपालको इतिहासमा नेपाली सेनाले पुर्याउँदै आएको अटुट योगदानलाई सदैव स्मरण गर्दै आगामी दिनमा पनि यसबाट प्ररेणा लिँदै नवआयुक्तहरुले सक्दो योगदान दिनेमा विश्वास उनले व्यक्त गरे । संवैधानिक सरकारको मातहत र निर्देशनमा व्यावसायिक एवं मर्यादित सङ्गठनका रुपमा स्थापित गर्न नेपाली सेनाले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले देशभित्र मात्रै नभई देशबाहिर समेत नेपाली शान्ति सेनाका रुपमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरुमा शान्तिदूतका रुपमा खटिएर विश्व शान्ति स्थापनार्थ पुर्याएको योगदानले नेपाललाई शान्ति सैनिकहरुको देशका रुपमा चिनाउन सफल भएको बताए । आफ्ना विविध जिम्मेवारीहरुलाई उत्कृष्ट र व्यवस्थित ढङ्गले निर्वाह गर्न सक्षम नेपाली सेना बहुआयामिक, सबल, सक्षम एवं सुदृढ सङ्गठनका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित भएको भन्दै उनले वर्तमान अवस्थामा हाम्रो मुलुक विभिन्न परिस्थितिबीच समृद्ध भविष्यतर्फ उन्मुख रहेको चर्चा गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘विकास र समृद्धिका लागि नियमसङ्गत रुपमा सुरक्षा र सुरक्षा सुदृढीकरणका लागि विकास अपरिहार्य छ । सुरक्षा चुनौतीका साथैै भविष्यमा देखा पर्न सक्ने अन्य चुनौतीको सामना गर्न नेपाली सेना सदैव सजग, सतर्क एवं तयार रहने विश्वास व्यक्त गर्दछु ।’ यहाँबाट प्रदान गरिने तालिमलाई संसारका देशहरुले मान्यता दिएका बताउँदै उनले भने, ‘आज संसारका विभिन्न राष्ट्रका सैनिक सङ्गठनहरुका लागि आधारभूत अधिकृत तालिमका लागि रोजाइमा पर्न सफल यस प्रतिष्ठानले आउँदा दिनहरुमा समेत तालिमलाई समयसापेक्ष रुपमा सञ्चालन गर्ने र आफ्नो व्यावसायिक छविलाई उच्च पार्दै जाने विश्वास व्यक्त गर्दछु ।’

वर्तमान अवस्थामा तालिम लिनेहरु बढ्दै गएको तर तालिम इलाका घट्दै गएको अवस्थामा त्यसको समस्या समाधानका लागि यस तालिम केन्द्रको उपकेन्द्र निर्माणका लागि आफ्नोतर्फबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । प्रधानमन्त्री दाहालले भने, ‘यस तालिममा मित्रराष्ट्र बङ्गलादेश, श्रीलङ्का र जाम्बियाका एक–एकजना अधिकृतसमेत यो कवाजमा सहभागी हुनुभएको र विगतमा पनि विभिन्न मित्रराष्ट्रबाट १० वर्षमा २३ जना आयुक्त भएको थाहा पाउँदा मलाई गर्वको महसुस भएको छ ।’

प्रधानमन्त्री दाहालले सि.नं ६० अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने कृष्ण खड्का र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने खगेन्द्र कार्कीलाई खुकुरी प्रदान गरे । त्यस्तै, महिलातर्फ उत्कृष्ट हुने अप्सरा बुढाथोकीलाई छडी अवार्ड प्रदान गरे । सि.नं ६० अधिकृत क्याडेट तालिममा ८६ र सि।नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा ३५ जनाले तीनवर्षे तालिम पूरा गरी आयुक्त पद प्राप्त गरेका छन् भने जाम्भियाका एकजनाले समेत अधिकृत क्याडेट तालिम पूरा गरेका छन् । कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता थियो ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?