काठमाडौँ । विभागीय टोली एपिएफले अग्रता जोगाउन नसक्दा राष्ट्रिय लिगमा बराबरीको नतिजासँगै शीर्ष स्थानका लागि अंकदूरी बढाउने अवसर गुमाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले सोमवार प्लानिङ ब्वाइज युनाइटेड क्लबसँग १–१ गोलको बराबरी नतिजा सामना ग¥यो । शिर्ष स्थानको एपिएफले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो । एपिएफका कप्तान युवराज खड्का र प्लानिङका एलेक्स विलियमले गोल गरे । दुवै हाफमा समान एक गोल भयो । एपिएफले शिर्ष स्थानको लागि अंक बढाउने अवसर गुमाएको छ । बराबरीपछि प्लानिङले भने शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । एपिएफ ९ खेलबाट २१ अंक जोड्दै शिर्ष स्थानमा छ । दोस्रो स्थानको टोलीभन्दा दुई अंकले मात्र बढी हो । चर्च ब्वाइज, लालीगुराँस एसोसिएसन, प्लानिङ ब्वाइज र मच्छिन्द्र क्लब गरी चार टोलीको समान १९ अंक जोडेको छ ।
तर, एपिएफ र लालीगुराँसले ९ खेल, प्लानिङको १० खेल र मच्छिन्द्रको आठ खेल भएको छ । खेलको २१औं मिनेटमा एपिएफले कप्तान युवराजको गोलबाट अग्रता लियो । मध्य भागबाट अनिष घर्तिले युवराजलाई फ्लिक पास दिए । प्लानिङ ब्वाइजका गोलकिपर योगेश धिमालअगाडि बढेको अवस्थामा युवराजको पेनाल्टी बक्सबाहिरबाट ओभर हेड सट जाली चुमेको हो । ६ मिनेटपछि प्रदीप लामाले लामो दूरीबाट गरेको प्रहार प्लानिङ ब्वाइजका गोलकिपर योगेश धिमालका लागि चुनौती भएन । ३५औं मिनेटमा एपिएफका अनिषले अग्रता दोब्बर बनाउने अवसर गुमाए । प्रदीप लामाको कट ब्याकमा अनमार्क अनिष १० यार्डबाट गोल गर्न चुके । ३६औं मिनेटमा प्लानिङ ब्वाइजले पहिलो अवसर बुन्यो ।
तर, कप्तान प्रतापसिंह राईले २५ यार्डबाट गरेको सट एपिएफका गोलकिपर एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । चार मिनेटपछि प्लानिङ ब्वाइजका पापा केबेको फ्रिकिक प्रहार सफल भएन । ४१औं मिनेटमा एपिएफका प्रदीप लामाको हेडर बारमाथिबाट बाहिरियो । पहिलो हाफमा एपिएफ १–० ले अगाडि रह्यो । ६२औं मिनेटमा प्लानिङ ब्वाइज एलेक्स विलियनको गोलबाट बराबरीमा फर्कियो । पापा केबेको पास नियन्त्रणमा लिँदै पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट गरेका हुन् । उनले दोस्रो बार च्याप्दै गरेको प्रहार एपिएफका गोलकिपर एन्जलले भेट्टाउन नै सकेनन् । ६९औं मिनेटमा एलेक्सले अग्रता लिने अवसर गुमाए । रोमन भुजेलको फ्रिकिकमा नजिकदूरीबाट उनको हेडर पोस्टको दिशामा रहन सकेन ।
८८औं मिनेटमा पापा केबेको बाइसाइकल किक एपिएफका गोलकिपर एन्जलले उत्कृष्ट बचाउ गरे । प्रतापसिंहको क्रसमा पापाले नियन्त्रणमा लिँदै पेनाल्टी बक्सबाट उत्कृष्ट गरेका हुन् । त्यसपछि पनि थप गोल हुन सकेन र खेल बराबरीमा नै सकियो । त्यसअघि भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबले श्रीभगवती क्लबमाथि २–० को जित निकाल्यो । फ्रेन्ड्सका प्रशान्त लक्षमले एक गोल गरे । अर्को गोल आत्मघाती रूपमा पाएको हो । विश्वास चौधरीले आत्मघाती गोल गरेका हुन् । फ्रेन्ड्सले ९ खेलबाट ९ अंक जोड्दै दशौं स्थानमा उक्लिएको छ । श्री भगवती ९ खेलबाट आठ अंकसहित १२औं स्थानमा झ¥यो । दिनको अन्तिम खेलमा त्रिभूवन आर्मी क्लव र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार