Trending
>>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

फोहोर सङ्कलन गर्नेलाई सुनको सिक्का दिने घोषणा


२९ चैत्र, एजेन्सी । दक्षिणी कश्मीरको अनन्तनाग जिल्लाका फारुक अहमद गनाईले आफ्नो क्षेत्रमा प्लास्टिकको फोहोरको समस्या समाधान गर्न अनौठो पहल सुरु गरेका छन् ।

‘प्लास्टिक दिनुहोस् सुन लिनुहोस्’ भन्ने नाराका साथ गनाईले २० क्विन्टल (दुई हजार किलो) प्लास्टिकको फोहोर सङ्कलन गर्ने जोसुकैलाई १० ग्राम सुनको सिक्का दिने घोषणा गरेका छन् ।

अनन्तनाग जिल्लाको हिलर शाहाबाद क्षेत्रको विकट गाउँ पञ्चायत सदिवाराका प्रमुख गनाईले गाउँका मानिसलाई प्लाष्टिकजन्य फोहोरलाई खोलानाला र सडकमा फाल्नुको सट्टा जम्मा गर्न उत्प्रेरित गर्दै पुरस्कारको रूपमा सुनको सिक्का दिने घोषणा गरेका हुन्

प्लाष्टिक प्रदुषण न्यूनीकरणका लागि जनचेतना र मानसिकता परिवर्तन गर्नु महत्वपूर्ण रहेको उनको भनाइ छ । सुनको सिक्का दिने योजना सार्वजनिक गर्नुअघि गनाईले जिल्लाका उप आयुक्त डा बशारत कयुमसँग यससम्बन्धमा विचारविमर्श गरेका थिए । उनले पनि त्यसको प्रशंसा गर्दै त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि ग्रामीण विकास विभागद्वारा आयोजित एक कार्यक्रमका बीच गत जनवरी ७ देखि ‘प्लास्टिक दिनुहोस् सुन लिनुहोस्’ अभियान औपचारिक रूपमा सुरु भएको हो ।

अभियान सुरु भएदेखि नै गनाईले यस क्षेत्रलाई सामूहिक र व्यक्तिगत रूपमा सरसफाइमा युवा क्लब, स्थानीय निकायका सदस्य, ज्येष्ठ नागरिक, सिँचाइ विभागका कर्मचारीलगायत कम्तीमा ३० स्वयंसेवकहरू संलग्न गराएका छन् । अभियानले सडक सफाइमा मात्र नभई त्यस क्षेत्रका खोलानालाको सफाइमा पनि केन्द्रित गरेको छ । फोहर प्लाष्टिक सङ्कलन गर्न सङ्कलन स्थलहरू स्थापना गरेर त्यसलाई पुनः प्रयोग गर्ने प्रयास भइरहेको छ ।

अधिवक्ता गनाईको प्रयासलाई वातावरणविद्हरूले व्यापक रूपमा प्रशंसा गरेका छन् । उनीहरूले प्लाष्टिकजन्य फोहोर सङ्कलन गर्न पुरस्कार प्रणाली सिर्जना गर्दा प्रदूषण कम गर्न प्रभावकारी हुने बताएका छन् । अभियानले लोकप्रियता पाएको छ, सबैले त्यसको प्रशंसा गरेका छन्भने अन्य पञ्चायतहरूले पनि त्यसलाई अपनाएका छन् ।

सदिवारा क्षेत्रका स्थानीयहरू पनि स्वेच्छिक रूपमा अभियानमा संलग्न भएका छन् । यहाँ अझ रोचक पक्ष के छ भने वातावरण मैत्री समाज निर्माणको पहलमा लागेका गनाईले फोहोर व्यवस्थापनका लागि नवीन विचार प्रस्तुत गर्दै आएका उनले प्रयोग गरिएको ‘डाइपर’लाई कृषि क्षेत्रमा प्रयोग गरेर देखाएका छन् ।

सदिवारा क्षेत्रका सडक, गल्ली, खोला प्लाष्टिकमुक्त भएकाले अभियानको सकारात्मक प्रभाव देखिन थालेको छ । गनाईको प्रयासले स्थानीय जनतामा प्लाष्टिकका हानिकारक असरहरूबारे चेतना जगाएको छ । उनले यो अभियानलाई भारतका सम्पूर्ण भूभाग समेट्न कश्मीरदेखि कन्याकुमारीसम्म पुर्याउने योजना बनाएका छन् । सबै गाउँका लागि उदाहरण बनेको उनको अभियानलाई केन्द्र सरकारले पनि अघि बढाउने योजना बनाएको बताइएको छ ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?