काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
निर्वाचनमा दिइने भोट केवल एक मत मात्र नभई नागरिकमा निहित सार्वभौम सत्ताको प्रत्यायोजन भएको उल्लेख गर्दै उहाँले सही उम्मेदवार छनोट गर्न सुझाव दिनुभएको हो । मतदातालाई सचेत गराउँदै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले उम्मेदवारले मतदाताको महत्वपूर्ण अधिकार कसरी प्रयोग गर्छ र त्यो अधिकार प्रयोग गर्नसक्ने हैसियत राख्छ कि राख्दैन भन्नेकुरामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उम्मेदवारले व्यक्ति र मुलुकको भविष्य कसरी बनाउँछ भन्नेकुरामा आफू पूर्णरुपमा विश्वस्त भएपछि मात्रै उम्मेदवारलाई ‘फिल्टर’ गरेर भोट हाल्न उहाँले आग्रह गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पोखरेलले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सञ्चारमाध्यमको भुमिका सबैभन्दा महत्वपूर्ण हुने बताउनु भयो । सञ्चारमाध्यमले भ्रम, अफवाह र गलत सूचनाहरुलाई नियन्त्रण गर्नुपर्ने भन्दै उहाँले सञ्चारकर्मीहरुलाई आफ्नो आचरण र परिधिभित्र रहेर काम गर्न आग्रह समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आम मतदातालाई मेरो आग्रह के छ भनेदेखि तपाईंले यो निर्वाचनमा आफ्नो एउटा भोट मात्रै हाल्नुभएको छैन । त्यो मत त्यो भोटमार्फत, त्यो मतमार्फत तपाईंमा अन्तर्निहित सार्वभौम सत्ता अधिकार प्रतिनिधिलाई प्रत्यायोजन गर्दै हुनुहुन्छ । तपार्ईंको त्यो महत्वपूर्ण अधिकार उसले कसरी प्रयोग गर्छ, उसले त्यो प्रयोग गर्नसक्ने हैसियत राख्छ कि राख्दैन ? त्यो उम्मेदवारले तपाईंको भविष्य अथवा मुलुकको भविष्यलाई कसरी बनाउँछ भन्ने लाग्छ तपार्ईं जहाँ कन्भिन्स हुनुहुन्छ । त्यस्तो आफूले फिल्टर गरेर मात्रै आफ्नो अमूल्य मताधिकारलाई प्रयोग गर्नुस् । सबभन्दा भुमिका मिडियाको छ । भ्रम, अफवाह, गलत सूचनाहरुलाई तपाईंहरु कन्ट्रोल गर्दिनुस्, आफ्नो आचरण भित्र बस्दिनुस् र कसरी निर्वाचनको शुद्धता कायम गर्न सकिन्छ तपाईंहरुका सब प्रयासहरु त्यस दिशातर्फ केन्द्रित हुन् सबैलाई मेरो यही आग्रह छ ।’
निर्वाचनमा खसालिने एउटा मत केवल प्राविधिक प्रक्रिया मात्र नभई मतदातामा अन्तर्निहित सार्वभौम सत्ताको प्रत्यायोजन भएको बताउनु भयो ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार