Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज


२९ चैत्र, काभ्रे । धुलिखेल नगरपालिकालाई कृषि क्षेत्रमा जापानको सीप र प्रविधि भित्र्याउन सहज भएको छ । यसका लागि नगरले जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई त्यहाँको सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको छ ।

नगर जनप्रनिधि र कम्पनी पदाधिकारीबीच भएको सम्झौतामा जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका कृषकलाई पाँच वर्षको रोजगारी दिइनेछ । नगरप्रमुख अशोककुमार ब्याञ्जूले सम्झौताअनुसार जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई त्यहाँ कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने बताए।

“जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुनः कृषि पेसा गर्न चाहे नगरले प्रविधिमा सहयोग गर्नेछ”, ब्याञ्जूले भने । उनका अनुसार नगरभित्रका युवायुवतीले भविष्यमा कृषि तथा पशुपालनसम्बन्धी आधुनिकीकरण एवं प्रविधिमैत्री बनाउन जापानिज भाषा र सीप सिकाइनेछ । नगरले यसअघि कृषि ऐन, कानुन तथा नियमावली बनाइसकेको छ । सम्झौतापछि धुलिखेल नगरको कृषि क्षेत्रमा थप आधुनिकीकरण हुने अपेक्षा गरिएको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले उक्त नगरलाई नेपालको पहिलो स्वस्थ सहरका रुपमा सूचीकृत गर्ने भएको छ । सङ्घीय राजधानी काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनामा पहिलो स्वस्थ सहरको मान्यता दिई नगरलाई सदस्यता प्रदान गर्ने जनाइएको छ । दिगो विकास लक्ष्यका चार लक्ष्य शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका आठ देशमा धुलिखेलको अनुकरण भइरहेको बताइन्छ ।

नगरले हाल एक लाख बिरुवा रोपण अभियान सञ्चालन गरिरहेको छ । शून्य कार्बन उत्सर्जन गर्ने विश्वका १५ नगरमध्येको एक पर्यटकीय धुलिखेलले थप कार्बन उत्सर्जनको पूर्वाधार र संरचना निर्माण गर्न हाल अभियानअन्तर्गत पहिलो चरणमा तीन वडामा १५ हजार फलफूलका बिरुवा रोपण गरेको हो । रोपिएका सबै बिरुवामा जिपिएस (ग्लोबल पोजिसनिङ सिष्टम)बाट संरक्षण गरिने जनाइएको छ । “अब रोपिएका बिरुवामा सबै बिरुवामा जिपिएस जोडिएको छ, उसैको माध्यमबाट बिरुवाको निगरानी हुनेछ”, ब्याञ्जूले भने । उनका अनुसार यो प्रविधि जिल्ला र धुलिखेलकै लागि नयाँ हो ।

रोपिएका सबै बिरुवालाई नम्बर दिएर प्रणालीमा जोडिएको छ । बिरुवाको अवस्था स्वाभाविकभन्दा फरक भए तुरुन्तै प्रणालीमा जानकारी आउने र नगरको सम्बन्धित विभागले सुधारको काम गरिहाल्ने जनाइएको छ । वृक्षरोपणसँग शून्य कार्बन उत्सर्जन गर्ने खालका उद्योग मात्रै स्थापना गर्ने, नगरका पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउने, स्थानीय वन संरक्षण गरी वन क्षेत्रलाई सम्पूर्ण भू–भागको ४० प्रतिशतसम्म पु¥याउने योजना बनाइएको जनाइयो ।

धुलिखेलले नेपालमै पहिलोपटक वातावरणमैत्री ऐन नगरले निर्माण गरेको थियो । सोही ऐनअनुसार नगरलाई शून्य कार्बन उत्सर्जन नगर बनाइएको हो । नगरले हाल ६१ प्रतिशत फोहोर पानीलाई शुद्ध बनाई खोलामा पठाउने गरेको जनाएको छ । दिशाजन्य फोहोरबाट ग्यास र मल बनाउन योजना सुरु गरिएको नगरले जनाएको छ ।

साथै, टुँडिखेल पार्कमा विश्वभरका विभिन्न प्रकारका गुलाबका फूल उत्पादन गर्ने बगैँचा निर्माण सुरु गरिएको ब्याञ्जूले बताए। विज्ञका अनुसार २० हजार नयाँ बिरुवा पूर्णरुपमा हुर्कंदा आठ हजार टन कार्बन न्यूनीकरण हुन्छ । यसअनुसार धुलिखेलमा शून्य कार्बन उत्सर्जनार्थ एक लाख बिरुवा पूर्णरुपमा हुर्किए ४० हजार टन कार्बन न्यूनीकरण हुने बताइन्छ । कूल १२ वडा रहेको धुलिखेलमा क्रमशः अभियानलाई योजनाबुद्ध तवरले निरन्तरता दिइने जनाइएको छ ।

धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । नगरलाई केही महिनाअघि मात्रै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?