काठमाडौँ । नेपालमा आएर काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढेर गएको छ ।
श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार चीन, भारत, अमेरिका, बेलायत, क्यानडासहित ७४ देशका नागरिकले श्रम इजाजत लिएर निर्माण, स्वास्थ्य, हबाइ उडानसहितका क्षेत्रमा काम गरिरहेका छन् । विभागकाअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ८ सय ९२ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६ सय ६७ जनाले श्रम नविकरण गराएका थिए । यसरी कुल २ हजार ५ सय ५९ जना विदेशी श्रम इजाजत लिएर नेपालमा कार्यरत छन् ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ७ सय ९३ जनाले नविकरण गराएका छन् । यस अवधिमा १ हजार १ सय ६६ जना विदेशीले श्रम इजाजत प्राप्त गरेका छन् ।
भारतबाट नेपालमा आएर विभिन्न क्षेत्रमा ठूलो संख्यामा काम गरिरहेका छन् तर भारतीय नागरिकले नेपालमा आएर काम गर्दा श्रम स्वीकृति लिननपर्ने भएकाले उनीहरुको अभिलेख सरकारी रेकर्डमा खासै देखिँदैन ।
विभागका महानिर्देशक चक्रपाणी पाण्डेले अहिले संख्यात्मक रूपमा श्रम स्वीकृति लिएर सबैभन्दा धेरै चिनियाँ नागरिकले नेपालमा श्रम इजाजत लिएर काम गरिरहेको बताउनु भयो । उहाँकाअनुसार वर्षेनी करिव १ हजार ६ सय चिनियाँ नागरिक नेपालमा आएर काम गरिरहेका छन् ।
त्यस्तै बेलायत (युके) बाट एक सयभन्दा बढी नागरिक नेपालमा कार्यरत छन् भने जापनबाट पनि १ सय भन्दा बढी नागरिक विभिन्न परियोजनामा संलग्न छन् । ठूलो संख्यामा भारतीय नागरिकहरू नेपालमा काम गरिरहेका भएपनि उनीहरूले श्रम इजाजत लिन नपर्ने प्रावधानका कारण वास्तविक संख्या अभिलेखमा नरहेको पाण्डेले बताउनु भयो ।
उहाँकाअनुसार नेपाल–भारतबीच सन् १९५० को सन्धिअनुसार दुवै देशका नागरिकले एकअर्का देशमा काम गर्दा श्रम इजाजत लिनु नपर्ने व्यवस्था छ । तथापि, केही प्रतिष्ठानमा उच्चस्तरमा कार्यरत ३० जना भारतीय नागरिकले भने श्रम स्वीकृति लिएर काम गरिरहेका छन् ।
नेपालको श्रम ऐनअनुसार बढी दक्ष कामदारलाई बढीमा ५ वर्ष र अन्य प्राविधिकलाई ३ वर्षसम्म काम गर्न दिने व्यवस्था छ । बढी दक्ष कामदारले पुनस्र्थापना योजना पेश गर्नुपर्छ । उच्च प्राविधिक काम गर्ने विदेशी नागरिकले १२ वर्षसम्म श्रम नविकरण गराएर बस्न पाउने व्यवस्था छ ।
विभागकाअनुसार विशेषगरी निर्माण क्षेत्रमा विदेशी नागरिकको उपस्थिति उल्लेख्य छ । सुरुङ, टनेल, जलविद्युत आयोजना जस्ता प्रविधि आधारित ठूला परियोजनामा विदेशी प्राविधिक कार्यरत छन् । चिनियाँ सहयोगमा स्थापित सिमेन्ट तथा जलविद्युत उद्योगहरूमा चिनियाँ नागरिकहरूको संलग्नता देखिन्छ । यस्तै, नेपालमा सञ्चालित ब्रिटिस स्कुलहरूमा युकेका नागरिकहरू कार्यरत छन् भने जापानी परियोजनाहरूमा १०० भन्दा बढी जापानी नागरिक कार्यरत छन् । केही अस्पतालमा विदेशी डाक्टर कार्यरत छन् । केही एयरलाइन्स कम्पनीहरूमा विदेशी स्टेशन म्यानेजर छन् भने कतिपय विश्वविद्यालयमा विदेशी शिक्षकले अध्यापन गरिरहेका छन् ।
नेपाल सरकारसँग परियोजना सम्झौता गर्दा कतिपय विदेशीलाई श्रम स्वीकृति लिन नपर्ने व्यवस्था गरिने भएपनि अधिकांशले श्रम स्वीकृति लिनैपर्छ । कुनै प्रतिष्ठानमा विदेशी नागरिकले विना इजाजत काम गरेको पाइए कारबाही गरिने विभागले जनाएको छ ।
महानिर्देशक पाण्डेले भन्नुभयो, ‘विदेशबाट नेपालमा काम गर्न आउने नागरिकको संख्या बढिरहेको छ । ७४ देशका नागरिकले नेपालमा इजाजत लिएर काम गरिरहेका छन् । संख्यात्मक रुपमा सबैभन्दा बढी चिनबाट काम गर्न श्रम इजाजत लिएको देखिन्छ । वर्षेनी १६ सय चिनियाँ नागरिकले नेपालमा आएर काम गरिरहेका छन् । त्यस्तै युकेबाट पनि एकसय भन्दा बढी नागरिकले नेपालमा आएर काम गरिरहेका छन् । जापानबाट १०० जना भन्दा बढीले नेपालमा आएर कम गरिरहेका छन् । ठूलो संख्यामा भारतीय नागरिकहरु पनि नेपाल आएर काम गरिरहेका छन् । भारतीय नागरिकले नेपालमा आएर काम गर्न श्रम इजाजत लिन नपर्ने भएकाले त्यो संख्याको अभिलेख छैन । नेपाल भारतबीचको सन् १९५० को सन्धीअनुसार नेपाली र भारतीयले एकअर्का देशमा काम गर्दा श्रम इजाजत लिन नपर्ने प्रावधानका कारण भारतीयले नेपालमा श्रम इजाजत लिन पर्दैन् । तथापी केही प्रतिष्ठानहरुमा उच्चस्तरमा काम गर्ने ३० जना भारतीय नागरिकले श्रम स्वीकृति लिएर काम गरिरहेका छन् । संख्यात्मक रुपमा हेर्ने हो भने गत आर्थिक वर्ष २०८१÷८२ मा नयाँ श्रम स्वीकृति लिनेको संख्या ८९२ रहेको छ भने पुराना १६६७ जना विदेशीले श्रम नविकरण गराएका छन् । नेपालमा २५५९ जना विदेशीलाई श्रम रोजगार तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिएर काम गरिरहेका छन् । चालु आर्थिक वर्षको माघ मशान्तसम्ममा नयाँ श्रमस्वीकृति लिनेको संख्या ३७३ जना रहेका छन् भने श्रम इजाजत नविकरण गराउनेको संख्या ७९३ गरी ११ सय ६६ जना विदेशीले श्रम इजाजत लिएका छन् । नेपालमा श्रम ऐनअनुसार बढी दक्षलाई बढिमा ५ वर्ष काम गर्न र अन्य प्राविधिकलाई ३ वर्ष काम गर्न दिने व्यवस्था छ । त्यसमा बढि दक्ष कामदारले पुनःस्थापना योजना पेश गर्नुपर्छ । उच्च प्राविधिक काम गर्ने विदेशी नागरिक १२ बर्षसम्म श्रम नविकरण गराएर बस्न सक्छन् । खासगरी निर्माण क्षेत्रमा विदेशी नागरिकहरु छन् । जहाँ प्रविधिको धेरै प्रयोग हुन्छ त्यस्ता क्षेत्रमा विदेशी कामदारहरु धेरै रहेका छन् । सुरुङ टर्नेल, जलविद्युत निर्माणजस्ता ठूलठूला परियोजनामा विदेशीहरुले आएर काम गरिरहेका छन् । चिनियाँ सहयोगमा बनेका ठूलाठूला सिमेन्ट, जलविद्युत उद्योगहरुमा चिनियाँ नागरिकहरु आएर काम गरिरहेका छन् । नेपालमा संचालित ब्रिटिस स्कुलहरुमा धेरै युकेका नागरिकहरु कार्यरत छन् । जापानिज परियोजनाहरुमा १०० भन्दा बढी जापानी नागरिकले नेपालमा रोजगारी पाइरहेका छन् । नेपालका केही हस्पीटलहरुमा कार्यरत डाक्टरहरु पनि विदेशी रहेका छन् । नेपालमा सञ्चालित केही एयरलाइन्सहरुको स्टेशन म्यानेजरका रुपमा विदेशी आएर काम गरिरहेका छन् । अहिले कतिपय विश्व विद्यालयहरुमा विदेशीहरुले शिक्षकको रुपमा नेपालमा आएर काम गरिरहेका छन् । नेपाल सरकारसँग कतिपय परियोजना सम्झौता गर्दा कतिपय विदेशीहरुलाई श्रमस्वीकृति लिन नपर्ने गरी पनि गरेको हुन् कतिपय सम्झौताहरु पनि गरेका हुन्छन् । तर अत्याधिकलाई श्रम स्वीकृति लिनैपर्ने हुन्छ । कुनै प्रतिष्ठानमा विदेशी नागरिकले विना इजाजत काम गरिरहेको छ भने कारबाही गर्ने गरेका छौँं ।’
भारतीय मजदुरको नेपालमा आएर काम गर्नेको अभिलेख राम्रोसँग नराखिएपनि निर्माण क्षेत्र ठूलो मात्रमा भारतीयहरु रहेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउनुहुन्छ ।
उहाँकाअनुसार नेपालका निर्माण क्षेत्रमा अहिले पनि करिव ७ लाख भारतीय मजदुर कार्यरत छन् । नेपालमा निर्माण क्षेत्रमा काम गर्ने मजदुरको अभाव चरम छ । विदेशीने होडले गर्दा मजदुर नपाइएको र भारतबाट ठूलो संख्यामा मजदुर ल्याउन परेको सिंह बताउनु हुन्छ । उहाँकाअनुसार भारतका गाउँगाउँमा गएर मजदुर ल्याउनुपर्ने अवस्था छ । अहिले मजदुर ल्याउने होड चलेको छ, जसमा धेरैलाई आश्वासन दिएर झुक्याउने प्रवृत्ति पनि बढेको छ । निर्माण कम्पनीहरूबीच प्रतिस्पर्धा हुँदा मजदुर तानातान हुने र पेश्की दिएको रकम फिर्ता लिनसमेत कठिनाइ हुने अवस्था रहेको उहाँले बताउनु भयो ।
कतिपय अवस्थामा २५ लाखमा सहमति गरेको काममा अन्य कम्पनीले २७ लाख प्रश्ताव गर्दा मजदुरले धोका दिएर अन्यन्त्रै जाने गरेका छन्, जसले गर्दा समय नोक्शानी हुने गरेको सिंह बताउनु हुन्छ । सिंहकाअनुसार एउटा मजदुर टोली ल्याउन ५–७ दिन लाग्ने गरेको छ ।
सिंहले उद्योगधन्दा र निर्माण क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा भारतीय मजदुरको संख्या २० लाखभन्दा बढी हुनसक्ने आकलन गर्नुभयो ।
अध्यक्ष सिंहले भन्नुभयो,‘करिव ७ लाख भारतीय मजदुर नेपालको निर्माण क्षेत्रमा कार्यरत छन् । अहिले पनि मजदुर अभाव छ । आफैँ भारतको गाउँगाउँमा गएर मजदुरहरु ल्याएर काम गराउनुपर्ने स्थिति छ । अहिले एककिसिमको होडजस्तो चलेको छ । मजदुर ल्याउनेहरुले धेरै जनालाई आश्वासन दिएर झुक्याइरहेको अवस्था छ । प्रत्येक निर्माण कम्पनीले होडबाजी गरेर भारतबाट मजदुरहरु ल्याउने र ल्याइरहेका ती मजदुर तानातानमा पर्ने क्रम चलेको छ । कतिपय बेला पेश्की दिएको रकम पनि प्राप्त गर्न गाह्रो पर्ने गरेको छ । कतिपय बेला २५ लाखमा पाएको काम अरुले २७ लाख दिँदा मजदुरहरुले काम छाडेर अन्त काम गर्न जाने गरेका छन् । यसले गर्दा हामीले समय गुमाउने गरेका छौँ । एउटा मजदुर टोली ल्याउन ५–७ दिन लाग्ने गरेको छ । अत्यन्त धेरै ठूलो संख्यामा अहिले भारतीय मजदुरहरुले नेपालको विकास निर्माणको काम गरिरहेका छन् । उद्योगधन्दामा पनि ठूलो संख्यामा भारतीय मजदुरहरु छन् । निर्माण क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा भारतीय मजदुरको संख्या २० लाख भन्दा बढी हुनसक्छ । नेपालीहरु विदेश जाँदा कम्तीमा २ वर्षका लागि विदेश जाने गरेका छन् भने भारतीयहरु नेपाल काम गर्न आउँदा बढीमा ६ महिना काम गरेर फर्कने गरेका छन् ।’
सिंहकाअनुसार निर्माण क्षेत्रमा कार्यरत भारतीय मजदुर नेपाली भन्दा फरक हुन्छन् । नेपाली श्रमिकहरू विदेश जाँदा कम्तीमा दुई वर्षका लागि जाने गर्छन् भने भारतीय मजदुरहरू नेपालमा बढीमा ६ महिना काम गरेर फर्कने गरेका छन् ।
श्रमिकको सम्मान र काम गर्ने वातावरण अभावका कारण नेपालीहरू विदेश पलायन भइरहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्ने, काम गर्ने अवसर सिर्जना गर्नुपर्ने र श्रमको सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार