काठमाडौँ । नेपाली काँग्रेस काठमाडौंका सभापति एवं काठमाडौं क्षेत्र नम्बर ६ का काँग्रेस उमेदवार कृष्ण सबुज बानियाँले सबुज कृष्ण बानियाँले आफू निर्वाचित भए काठमाडौंका खोला–नदीलाई र ढलमुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मंगलवार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले काठमाडौंलाई प्रदुषणमुक्त र ढलमुक्त बनाउने प्रतिज्ञा गर्नुभएको हो । उहाँले सिंगो काठमाडौंको वातावरणीय सुधार आफ्नो प्राथमिक एजेण्डा रहेको उल्लेख गर्नुभयो । उहाँले काठमाडौंका विभिन्न क्षेत्रबाट निर्वाचित हुने जुनसुकै दलका जनप्रतिनिधिसँग समन्वय गरेर खोलामा मिसिएको ढल व्यवस्थापन र प्रदुषण नियन्त्रणका लागि अग्रसर हुने दाबी गर्नुभयो । बानियाँले सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि उत्तिकै महत्व दिएको उल्लेख गर्दै परापूर्वकालदेखि रहेका सम्पदाको यथोचित व्यवस्थापन र प्रवद्र्धन गरिने बताउनु भयो । काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन समन्वित पहल आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले शिक्षा क्षेत्र सुधार आफ्नो अर्को प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयको गुणस्तर उकास्न विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘म सिंगो काठमाडौं र काठमाडौंको खोलालाई प्रदुषण र ढलमुक्त गर्ने संकल्प गर्न चाहान्छु । काठमाडौंका अन्य क्षेत्रबाट निर्वाचित भएर जाने जुनसुकै दलका नेताहरुसँग समन्वय गरेर त्यसको अग्रपंक्तिमा रहेर काठमाडौंका खोलाहरुमा रहेको ढलको समस्या समाधान गर्छु । सम्पदाहरुको संरक्षण गर्ने कुरामा पनि सबै कुराको यथोचित व्यवस्थापन गरेर हाम्रा परापूर्व कालदेखि रहेका सांस्कृतिक सम्पदाहरुलाई अझै सशक्त रुपमा अगाडि बढाउने पनि प्रण गर्न चाहन्छु । शिक्षालाई गुणस्तर बनाउँदै सामुदायिक विद्यालयहरुको गुणस्तर उकास्ने गरी कार्यक्रम अगाडि बढाउँछु । मैले धेरै विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष एवं विगतमा आफू पनि सोही पेसाबाट आएको हुनाले मलाई राम्रोसँग थाहा छ । अहिले यो क्षेत्र उच्च किसिमको शहरीकरण भइसकेको छ । यसको उच्च किसिमको व्यवस्थापन पनि गर्नुपर्छ । अहिलेको समयसन्दर्भअनुसार व्यवस्थित गर्न सबै पक्षसँग संवाद गर्न पनि चाहन्छु ।’
काठमाडौं–६ उच्चस्तरीय शहरीकरण भइसकेको उल्लेख गर्दै बानियाँले व्यवस्थित शहरी व्यवस्थापनका लागि समयसापेक्ष योजना आवश्यक रहेको धारणा पनि राख्नुभयो । उहाँले सबै वर्ग, उमेर र समुदायको हकहित र भावनाअनुसार काम गर्ने प्रतिज्ञा गर्दै आसन्न निर्वाचनमा आफूलाई निर्वाचित गराउन समेत अपिल गर्नुभयो ।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलवार