Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति


आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति

काठमाडौँ  । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन कुनैपनि बहानामा सार्न नहुने स्पष्ट पारेको छ ।

एमालेका केन्द्रिय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले मंगलवार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्वाचन सार्ने गरी भइरहेका विभिन्न भ्रामक हल्ला र षडयन्त्रप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो । निर्वाचनको मिति आउन अब ९ दिन मात्र बाँकी रहँदा मुलुक निर्वाचनमय भइसकेको अवस्थामा निर्वाचन सार्ने कुरा एमालेका लागि स्वीकार्य नहुने उहाँले चेतावनी दिनुभयो ।

निर्वाचन सुरक्षा र निषेधाज्ञाको विरोध

प्रचार विभाग प्रमुख शाहीले तराई–मधेसका विभिन्न जिल्लाहरूमा जारी निषेधाज्ञा र कफ्र्यूले मतदाताको संवैधानिक अधिकार कुण्ठित गर्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
‘शान्ति सुरक्षाका नाममा कफ्र्यू लगाउनु सुरक्षा व्यवस्थापनको कमजोरी हो ।’ शाहीले भन्नुभयो, ‘यसले जनतामा सुरक्षाको अनुभूति भन्दा पनि डर र त्रास पैदा गर्छ, जसका कारण स्वतन्त्र रूपमा मतदान गर्ने अधिकार प्रभावित हुन सक्छ ।’

उहाँले सरकारलाई तत्काल भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रत्याभूति गराउन माग गर्नुभयो ।

एमालेको बढ्दो लोकप्रियता र ‘भोट फर नेशन’ को नारा

नेकपा एमाले यतिबेला नेपाली जनताको भरोसाको केन्द्र बनेको दाबी गर्दै शाहीले एमालेको बढ्दो लोकप्रियताले अन्य शक्तिहरू अत्तालिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले देशभर एमालेको पक्षमा जनलहर छ । हामी ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ भन्ने उच्च मनोबलका साथ जनताको घरदैलोमा पुगेका छौं ।’
एमालेले स्थायित्व, समृद्धि र सुशासनको स्पष्ट कार्ययोजनासहित अघि बढेको र आगामी निर्वाचनमा १३८ सिटसहित स्पष्ट बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने उहाँले ठोकुवा गर्नुभयो ।

न्याय प्रणाली र महान्यायाधिवक्ताको भुमिकामाथि प्रश्न

शाहीले महान्यायाधिवक्ताको कार्यालयले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई आममाफी दिने तयारी गरेको भन्दै आलोचना गर्नुभयो । जेन–जी प्रदर्शनका क्रममा भएका घटना, सहकारी ठगी र सम्पती शुद्धीकरण जस्ता गम्भीर मुद्दामा लागेकाहरूलाई निर्वाचनको मुखमा सफाइ दिनु ‘न्याय मार्नु’ सरह भएको उहाँको तर्क छ ।

त्यस्तै, प्रतिनिधि सभा विघटनको मुद्दालाई सर्वोच्च अदालतले संवैधानिक परीक्षणमा लैजान आलटाल गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

‘संवैधानिक सर्वोच्चता स्थापित गर्नका लागि पनि यो मुद्दाको छिनोफानो हुनुपर्छ, ६ महिनासम्म आलटाल गरिनु न्यायसंगत छैन ।’ उहाँले भन्नुभयो ।

मत सर्वेक्षण र सामाजिक सञ्जालको दुरुपयोगप्रति चेतावनी

निर्वाचनको संवेदनशील घडीमा केही सञ्चार माध्यमहरूले प्रायोजित र एकपक्षीय मत सर्वेक्षण सार्वजनिक गरेर मतदाताको मनोविज्ञान प्रभावित पार्न खोजेको एमालेको ठहर छ । शाहीले यस्ता कार्यले पत्रकारिताको विश्वसनीयता गुम्ने र निर्वाचन आचारसंहिताको उल्लंघन हुने बताउनु भयो ।
साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी ‘डिप फेक’ भिडियो र भ्रामक अडियोहरू निर्माण गरेर एमाले नेतृत्वको बद्नाम गर्ने प्रयास भइरहेको भन्दै उहाँले नियामक निकायको ध्यानाकर्षण गराउनु भयो ।

‘हाम्रो पार्टी अध्यक्षमाथि अपमानजनक ढंगले सामाजिक सञ्जालमा प्रहार भइरहेको छ, यसलाई तत्काल रोकिनुपर्छ ।’ उहाँले भन्नुभयो ।

आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति आपत्ति

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा प्रभावकारी भुमिका खेल्न नसकेको शाहीको आरोप छ । केही राजनीतिक दलले निर्वाचन चिन्ह अंकित टिसर्ट र अन्य भौतिक सामग्रीहरू वितरण गरिरहँदा पनि आयोग ‘मूकदर्शक’ बनेको उहाँले बताउनु भयो ।
‘धार्मिक परम्परासँग जोडिएको चुनाव चिन्ह प्रयोग गरेर आचारसंहिताको धज्जी उडाइएको छ, आयोगले आजको आजै यस विषयमा एक्सन लिनुपर्छ ।’ उहाँले माग गर्नुभयो ।

धादिङ बस दुर्घटनाप्रति दुःख व्यक्त

प्रचार विभाग प्रमुख शाहीले धादिङको भैंसीगौडामा भएको बस दुर्घटनामा १९ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारका लागि सरकारसँग माग गर्नुभयो ।

शाहीले एमाले सबै पक्षसँग सहकार्य र विनम्रताका साथ अघि बढ्न तयार रहेको तर निर्वाचनको निष्पक्षता र राष्ट्रिय स्वाभिमानको सवालमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।


प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?