Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जापानी प्रविधिमा आधारित कम्पोष्ट मल बजारमा


२९ चैत्र, काभ्रे । रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले लामो समयको अनुसन्धान र परीक्षणपछि गुणस्तरीय र दुर्गन्धरहित कम्पोष्ट (प्राङ्गारिक) मलको व्यावसायिक उत्पादन बजारमा ल्याएको छ।

रासायनिक मलको आयातलाई प्रतिस्थापन गरी माटोको उर्वरा शक्तिलाई जोगाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने सन्दर्भमा कम्पोष्ट मल उपयुक्त विकल्प हुने प्रालिका प्रबन्ध निर्देशक उषा गिरीले दाबी गरे।

जापानी प्रविधिमा आधारित उक्त मलको प्रयोगपछि बालीनालीमा कीटनाशक औषधि आवश्यकता नपर्ने भएकाले जनस्वास्थ्य र वातावरणमैत्री रहने उनले उल्लेख गरे।

खाद्यान्न बाली, फलफूल र तरकारी रासायनिक मलको प्रयोगसरह नै उत्पादनको लाभ लिन सकिने जनाउँदै प्रालिले यसको प्रयोगले अर्बौं विदेशी मुद्रा सञ्चितिमा योगदान पुग्ने जनाएको छ।

सिन्धुलीको दुधौली, भक्तपुरको ठिमी, काभ्रेको पाँचखाल र दाङको राप्ती नगरपालिकासँग सहकार्य गरी उक्त प्रालिले कम्पोष्ट मलका लागि शाखा विकास र विस्तार अघि बढाउँदै आएको छ।

घाँस, घरायसी फोहर, रातो माटो, भुस, ढुटोजस्ता जैविक सामग्रीबाट तयार गरिने कम्पोष्ट प्राकृतिक र जैविक मल हो। रासायनिक मलको तुलनामा कम्पोष्टको प्रयोग माटोको उर्वरा शक्ति बढाउने तथा माटोलाई खुकुलो बनाएर उत्पादन र लागतका हिसाबले आकर्षक विकल्प रहने देखाएको छ।

सम्पूर्ण स्वदेशी कच्चा पदार्थको प्रयोग हुने भएकाले निकै सस्तो रहने प्रालिका संस्थापक किरणप्रकाश साखःले बताए। उनले भने, “रासायनिक मलको तुलनामा निकै लाभदायी र सस्तोमा कम्पोष्ट उपलब्ध हुन्छ, अन्नबालीमा रोगव्याधि र किरा नलाग्ने हुँदा ढुक्क भएर प्रयोग गर्न सकिन्छ।”

“सरकारले रासायनिक मललाई दिँदै आएको अनुदानको केही अंश उपलब्ध गराएमा किसानलाई मल सित्तैमा उपलब्ध गराउन सक्छाैँ”, संस्थापक साखःले भने।

उक्त प्रविधिबाट वस्तुभाउको गोबरलाई नवीनतम प्रविधि अपनाएर गरिने प्रयोगले बाली तथा बोट बिरुवामा किराको सङ्क्रमण कम हुने दाबी गर्दै संस्थापक साखःले कृषि प्रधान देशमा मलका लागि भौँतारिनुपर्ने अवस्था अन्त्यका लागि यो प्रयास र प्रयत्न अघि बढाएको बताए।

काठमाडाँै उपत्यकालगायतका सहरबाट सङ्कलन गरिने ८० प्रतिशत फोहरलाई मलमा परिणत गर्न सकिने बताउँदै प्रालिले बालीनालीका लागि कम्पोष्ट मल नेपाली भान्सामा थकाली खानाजस्तै रहेको बताए।

अहिले रासायनिक मलका लागि सरकारले वार्षिक रु सात अर्बभन्दा बढी अनुदान दिँदै आएको छ भने मुलुकले तरकारीलगायतका बालीनालीमा लाग्ने रोग र किरा नियन्त्रणका लागि वार्षिक एक हजार एक सय टनभन्दा बढी विषादी आयात गरिरहेको छ।

कम्पोष्ट मलको प्रयोगले रासायनिक मलको आयात घटाउन र मुलुकमा कृषि उत्पादन बढाउन योगदान पुग्ने प्रालिको दाबी छ। काठमाडाँै उपत्यकाको फोहर सहजरूपमा प्राप्त गरेमा प्रालिले दैनिक पाँच सय टन कम्पोष्ट मल तयार गर्ने क्षमता राखेको सो अवसरमा जानकारी दिइयो।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?