Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै


सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै

काठमाडौँ। एमेच्योर गल्फर एवम् डिफेन्डिङ च्याम्पियन राहुल विश्वकर्माले सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिनमा पनि शिर्ष स्थानमा अग्रता कायमै राखेको छ ।

सूर्य नेपाल सेन्ट्रल ओपन यस सिजनको सूर्य नेपाल गल्फ टुर (२०२५–२६) को पहिलो प्रतियोगिता हो । उक्त प्रतियोगितामा एमेच्योर गल्फरले आफ्नो दबदबा दोस्रो दिन पनि कायमै राखेका छन् । गोकर्ण गल्फ क्लबमा राहुलले पाँच अन्डर ६७ को स्कोर गर्दै मंगलबारको खेल पूरा गरे । यससँगै उनले समग्रमा ११ अन्डर १ सय ३३ को स्कोर बनाए । राहुलले प्रोफेसनल खेलाडी भुवनकुमार रोक्कामाथि सात स्ट्रोकले अग्रता लिएका छन् । भुवन समग्रमा चार अन्डर १ सय ४० को कार्डमा छन् । उनले दोस्रो दिन पाँच अन्डर ६७ स्कोर गरे पनि दोस्रो स्थानमा नै रहे । राहुल उपाधि रक्षा गर्ने लक्ष्यमा छन् ।

उनले फ्रन्ट नाइनमा तीन अन्डर ३३ खेल्दा ब्याक नाइनमा दुई अन्डर ३४ पूरा गरेका थिए । राहुलले दोस्रो, तेस्रो, पाँचौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । तर, उनले चौथो र छैटौं होलमा बोगी खेपे । यसपछि राहुलले दशौंं, ११औं, १३औं र १४औं होलमा पनि समान एक सट बचाए । तर, उनी १५औं र १६औं होलमा लगातार दुई बोगी प्रहार गर्न पुगे । जयराम श्रेष्ठले तेस्रो स्थानबाट पछ्याइ रहेका छन् । उनले दोस्रो दिन इभन–पार ७२ खेले । उनी समग्रमा एक अन्डर १ सय ४३ को स्कोर छन् । भुवन नगरकोटी चौथो स्थानमा उक्लिए । समग्रमा उनी एक ओभर १ सय ४५ को स्कोरमा छन् ।

उनले दोस्रो दिनको खेल इभन पार ७२ मा सकाए । चार खेलाडी संयुक्त रूपमा पाँचौं स्थानमा छन् । नेपाल नम्बर एक प्रो नीरज तामाङ (६९), शुक्र बहादुर राई (७१), दिनेश प्रजापति (७३) तथा एमेच्योर रुबेन थापा (७०) समग्रमा दुई ओभर १ सय ४६ को स्कोरमा छन् । चार ओभर १ सय ४८ स्कोरमा रबि खड्का (७१), प्रदीप कुमार लामा (७५) तथा एमेच्योर फुन्सो नोर्बु लामा (७५) संयुक्त रूपमा आठौं स्थानमा रहे । यस प्रतियोगिता १८ प्रोफेसनल र ६ एमेच्योर गरी २४ खेलाडीले कट (११ ओभर १५५ स्कोर गरेका) बनाएका छन् । प्रोतर्फ सूर्यप्रसाद शर्मा, तोरणविक्रम शाही, दीपक मगर, किसन कालीराज सुनार, धनबहादुर थापा, टंकबहादुर कार्की, कुमार कामी, रमेश अधिकारी र रामे मगरले कट बनाएका हुन् ।

एमेच्योरतर्फ साम डोबलार्ड, टासी छिरिङ र बलराम पौडेलले पनि कट बनाए । एमेच्योर वाङ्चेन ढोन्डुपसँगै भीमसेन चौलागार्इं, सञ्जय लामा र सबिन सापकोटाले ११ ओभर १ सय ५५ स्कोर गरेका थिए । तर, उनीहरू काउन्ट ब्याकमा पछि पर्दा कट बनाउन असफल भए । विजेताले १ लाख ७० हजार, उपविजेताले एक लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले एक लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौं हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कट बनाउने शीर्ष १८ गल्फरले पनि नगद पुरस्कार पाउनेछन् ।


प्रकाशित मिति: १५ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?