काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूको सञ्जाल तल्लो तहसम्म सक्रिय भएकाले उनीहरूमार्फत निर्वाचनको सन्देश प्रवाह गर्न सरकार सक्रिय भएको बताएका छन् ।
मंगलवार नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालयको अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री सिन्हाले निर्वाचनको वातावरण अझ सुदृढ बनाउन सरकार राजनीतिक दलहरुलाई निर्वाचनको सन्देश तल्लो तहसम्म प्रभावकारी रुपमा प्रवाह गर्न आग्रह गरिएको पनि बताएका छन् । उनले दलहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको जिज्ञासा संकलन गरी सरकारसमक्ष लैजाने जिम्मेवारी स्वरुप आफूहरु छलफल गरिरहेको समेत बताएका छन् । उनले सरकार र जेनजी युवा पुस्ता समेत निर्वाचन गर्नुपर्ने मनसायका साथ अगाडि बढिरहेको बताएका छन् । उनले जेन–जी अगुवाहरुको माध्यमबाट विभिन्न मागहरु आउनु स्वभाविक भएको पनि बताएका छन्।
उनले भने, ‘प्रत्येक दलहरुको सम्पर्क तल्लो तहसम्म पनि भएको कारण उहाँहरुले एकपटक निर्वाचनको बारेमा बोलिदिनुभयो भने त्यो इको समेत तल्लो तहसम्म पुग्छ । त्यसो भएको हुनाले दलहरुको माध्यमबाट चुनावको वातावरण अझै बन्नसक्छ भन्ने कुराहरु हामीले उहाँहरुलाई भनेका छौँ । निर्वाचन आयोग र सरकारले समेत निर्वाचनको तयारीका लागि आयोजना गरेका छलफलहरुमा समेत सबै राजनीतिक दलहरुलाई बोलाउने गरेका थियौँ । अब हामी मुख्य राजनीतिक दलहरुको कार्यालयमै गएर उहाँहरुसँग छलफल गर्ने र उहाँहरुको जिज्ञासाहरु छन् भने ति जिज्ञासाहरुलाई सरकारसमक्ष लिएर जाने जिम्मेवारी लिएर हामी हिँडिरहेको अवस्था छ । भदौ २३, २४ को जुन दुभाग्र्यपूर्ण अवस्था आउनुमा धेरै आयामहरु छन् । सबै वर्गको संयुक्त आवाज लिएर उहाँहरुले आन्दोलनमा आउनुभएको अवस्था थियो । कुनै एउटा मात्र राजनीतिक दल भएको भएपनि एउटै कुरामा अडिग भएर बस्न सक्नुहुन्छ । तर जेनजी समूहहरुसँग हामी जुन छलफल गरिरहेका छौँ त्यसमा उनीहरुको विभिन्न मागहरु आउनु स्वभाविक कुरा नै हो ।’
उनले सरकारले राजनीतिक दलहरूसँग संवाद गरी निर्वाचनको अनुकूल वातावरण निर्माण गर्न सक्रिय रहेको दोहोर्याएका छन् ।
प्रकाशित मिति: ८ पुष २०८२, मंगलवार