काठमाडौँ। नेकपा (एमाले)ले गत भदौ अन्तिम साता सम्पन्न विधान महाधिवेशनबाट पारित निर्णयअनुसार नै नेतृत्व निर्माण गर्ने भएको छ ।
शुक्रवार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । उनकाअनुसार यो महाधिवेशनले २ सय ५१ सदस्यीय केन्द्रिय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । उहाँले ज्ञवालीले १०८ जना मनोनितको नामवाली पनि पारित भएको बताए । उक्त सूचि शनिवार सार्वजनिक गरिने उनको भनाइ छ । उनले महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि विद्युतीय मेसिन प्रयोग गरिने समेत जानकारी दिएका छन् । उनले महाधिवेशनको उद्घाटन सत्रमा राजनीतिक दलहरुका शुभकामना मन्तव्यका साथै अध्यक्ष ओलीले सम्बोधन गर्ने जानकारी दिएका छन् ।
उनले भने, ‘हाम्रो महाधिवेशनको उद्घाटन भोलि बिहान ११ बजे भक्तपुरस्थित सल्लाघारीमा हुनेछ । त्यो कार्यक्रममा हामीले विभिन्न मित्रराष्ट्रहरुका राजनीति पार्टीहरुबाट हामीले शुभकामना सन्देशहरु प्राप्त गरेका छौँ । त्यसबाहेक संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुलाई पनि हामीले आमन्त्रण गरेका छौँ । ती दलका प्रमुखहरुबाट हामी शुभकामनाहरु प्राप्त गर्नेछौँ । अध्यक्षले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुनेछ । हामीले यसरी उद्घाटन सत्रको कार्यतालिका तर्जुमा गरेका छौँ । पर्सीदेखि हाम्रो बन्दसत्र भृकुटिमण्डपमा सुरु हुनेछ । विगतका अभ्यासहरुभन्दा फरक यो पटक हामीले सिंगो सचिवालयले अध्यक्ष मण्डलको काम गर्ने प्रश्ताव गरेका छौँ । बन्दसत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि सचिवालयले नै आवश्यक कार्यक्रमहरु तर्जुमा गर्नेछ । महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रश्तावहरु तयारीका लागि प्रदीप ज्ञवालीको संयोजकत्वमा एउटा समिति र त्यहाँ भएका निर्णयहरुलाई माईन्युनिटिङ गर्नको लागि उपमहासचिव पृथ्बीसुब्बा गुरुङको संयोजकत्वमा माइन्युनिटिङ गर्ने निर्णय भएको छ । हामीले महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतिय मतदानको व्यवस्था गरेका छौं । यसपटक हामीले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राख्दै जुन विधान त्यहाँ पारित भएको छ त्यसकै आधारमा नेतृत्व चयन गर्ने निर्णय भएको छ । अर्थात २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीसहितको नेतृत्व निर्माण गर्ने निर्णय भएको छ ।’
बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रश्तावहरु तयारीका लागि प्रदीप ज्ञवालीको संयोजकत्वमा एउटा समिति तथा महाधिवेशनले गर्ने निर्णयहरुलाई माईन्युनिटिङ गर्नको लागि उपमहासचिव पृथ्बीसुब्बा गुरुङको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको समेत जानकारी गराएका छन्।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार