Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन


काठमाडौँ।जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका कैदीबन्दीहरुमध्ये अझै ५ हजार १३ जना फरार रहेको गृह मन्त्रालयले जनाएको छ ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार जेन–जी आन्दोलनको क्रममा १४ हजार ५ सय ५४ जना भागेकोमा ९ हजार ४ सय ४१ जनालाई फिर्ता ल्याइएको छ । उनले देशभरका कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहको बताए । फरार कैदीहरुको सूची सार्वजनिक गरी सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा नदिन सबै निकायमा पत्राचार गरिएको समेत जानकारी गराउदै खोजतलासका लागि सबै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको र सुरक्षातहमा विशेष अपरेसन समेत जारी रहेको बताएका छन् । उनले फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताउँदै सरकार ती चुनौती परास्त गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको समेत बताएका छन् ।

उनले भने, ‘भाद्र २३ र २४ को घटनामा देशका विभिन्न कारागारबाट १४ हजार ५ सय ५४ कैदीबन्दी फरार भएकोमा हालसम्म ९ हजार ४ सय ४१ जना फिर्ता ल्याइसकिएको छ । अहिले ५ हजार १३ जना पक्राउ गर्न बाँकी रहेको छ । उहाँहरुलाई हामीले पटक पटक सूचना निकालेर आग्रह पनि गरेका थियौं । फरार कैदीबन्दीहरुलाई पक्राउ गर्नको लागि निजहरुको सूची सार्वजनिक गरिएको छ । त्यस्ता फरार कैदीहरु सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा प्रदान नगर्न सबै निकायमा पत्रचार गरिएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोज तलास तिब्रता दिइएको छ । त्यस्ता सुरक्षा निकायमार्फत समेत फरार कैदी पक्राउ गर्न विशेष अपरेसन चलाउने कार्यलाई समेत अगाडि बढाइएको छ । फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा लिई सरकार गम्भीरतापूर्वक अगाडि बढेको छ । सम्पूर्ण चुनौतीहरुलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त छ । र यसमा सर्वसाधारण लगायत सबैको साथ र सहयोग अपरिहार्य रहेको छ ।’

उनले जेन–जी आन्दोलनका घाइतेहरुलाई परिचयपत्रसहित निशुःल्क उपचारको व्यवस्था मिलाइएको समेत बताएका छन् । उनले विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार उपलब्ध गराउने विषयमा सरकार आवश्यक गृहकार्यमा लागेको पनि बताएका छन् ।


प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?