एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशननजिक सोमबार साँझ भएको कार विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
साँझ करिब ६:५५ बजे पार्किङमा रोकिराखिएको कार अचानक विस्फोट हुँदा वरपरका तीन–चार गाडीमा समेत आगो लागेको दिल्ली प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि सातवटा दमकल परिचालन गरिएको थियो।
विस्फोटपछि आसपासको क्षेत्रमा आतंक फैलिएको र प्रहरी, फरेन्सिक टोली तथा राष्ट्रिय सुरक्षा गार्डका कमाण्डोहरूले घटनास्थलमा अनुसन्धान सुरु गरेका छन्।
घाइतेहरूलाई लोकनायक जयप्रकाश नारायण अस्पतालमा पुर्याइएको छ। अस्पतालका अनुसार, ८ जनाको घटनास्थलमै मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर छ।
विस्फोटपछि दिल्ली, मुम्बई, उत्तर प्रदेश र हरियाणामा उच्च सतर्कता घोषणा गरिएको छ। उत्तर प्रदेशमा ‘रेड अलर्ट’ जारी गर्दै संवेदनशील स्थलहरूमा सुरक्षा कडा पारिएको छ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार