Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

मधेस प्रदेश सरकार र चुरे तथा वनजङ्गल संरक्षण अभियानबीच सहमति


२६ चैत ,महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकार र चुरे तथा वनजङ्गल संरक्षण अभियानबीच पाँचबुँदे सहमति भएको छ । आज मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा प्रदेश सरकार र चुरे वनजङ्गल संरक्षण अभियानबीच यस्तो सहमति भएको हो ।

सहमतिसँगै चुरे तथा वनजङ्गल संरक्षण अभियन्ताले जनकपुरधामस्थित जनकचोकमा गरिरहेको आमरण अनशनसमेत स्थगन भएको छ भने आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु आजैदेखि फिर्ता लिइएको छ । प्रदेश सरकार र चुरे तथा वनजङ्गल संरक्षण अभियानबीच भएको सम्झौतामा स्थानीय सरकारले एकीकृत भूमिहीन बस्तीका लागि जग्गा उपलब्ध गराउनुपर्नेछ ।

सम्झौतामा प्रदेश सरकारले बस्ती निर्माण गर्न आवश्यक पर्ने बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत जनाएको छ । बस्ती निर्माण भएपश्चात् उक्त बस्तीअन्तर्गतका आवासहरु व्यावसायिक प्रयोजनका लागि बिक्री वितरण गर्न भने नपाइने सहमति पत्रमा उल्लेख छ ।

त्यस्तै, चुरे वनजङ्गल संरक्षण संवद्र्धनका लागि अनियमितता तथा बेथिति रोक्न प्रदेश सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाइएको छ । सम्झौताअनुसार डिभिजन वन कार्यालय पर्साद्वारा सञ्चालित योजनाहरु तथा यसअघि सिरहा वन क्षेत्र र मारुती सिमेन्ट उद्योग हाताभित्र रहेका जग्गाबारे अनियमितता भएको भन्ने गुनासोबारे छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिने छ ।

वैदेशिक रोजगारमा जाँदा प्रदेशवासीले भोग्नुपरेका समस्याको समाधान गर्न प्रदेश सरकारले पहल गर्ने र आवश्यक परेमा सङ्घीय सरकारसँग सहकार्य गर्ने सहमति पत्रमा उल्लेख छ । सहमतिपत्रमा मधेस प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन तथा वन राज्यमन्त्री मोहमद रहबर अन्सारी र चुरे तथा वनजङ्गल संरक्षण अभियानका तर्फबाट अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले हस्ताक्षर गरेका छन्‌ ।

सहमतिपश्चात् मुख्यमन्त्री यादवले चुरे क्षेत्रको प्रभावकारी व्यवस्थापन गरी प्राकृतिक स्रोत साधनको संरक्षण र तराई मधेसलाई मरुभूमिकीकरण हुनबाट बचाउने सन्दर्भमा प्रदेश सरकार संवेदनशील रहेको बताए । उनले चुरे क्षेत्रमा हुने कुनै किसिमको अनियमितता तथा प्राकृतिक स्रोतको अवैज्ञानिक दोहन सरकारलाई सह्य नहुने जिकिरसमेत गरे ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?